भद्रपुर , बैशाख २६ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ्नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ ।

भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले प्रशासनिक भवनबाट औपचारिक रुपमा सेवा शुरु भएको हो ।
शनिबार स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै गरिएको एक संक्षिप्त कार्यक्रमका बीच वैदिक विधिअनुसार शुभसाइतमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेसँगै अब औपचारिक रुपमा नयाँ भवनबाट सेवा शुरु भएको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले बताए ।
तीन वर्षदेखि भाडाको घरमा रहेको कार्यालय आफ्नै भवनमा सरेपछि वडाको सेवा प्रवाह थप सहज र सुविधाजनक हुने वडाध्यक्ष पोखरेलको भनाइ छ । भवन उद्घाटनमा उपप्रमुख चन्द्रा श्रेष्ठ, वडा सदस्यहरु मित्रा भट्टराई, पोषराज पौडेल, विभा पासवान, प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेल, इञ्जिनियर योगेन्द्र रञ्जितकारलगायतको उपस्थिति थियो ।

०७६ भदौ १६ गते भ्याटसहित १ करोड ७०९ लाख ७८ हजार रुपैयाँमा सम्झौता भई गत चैतमा निर्माण सम्पन्न गरिएको सगरमाथा कन्स्ट्रक्सनका शम्भु कार्कीले जानकारी दिए । १ करोड ४७ लाख ४६ हजार ४३४ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा भुइँतलामा ७ वटा कोठा र पहिलो तलामा सभाहलसहित ३ वटा कोठा रहेको इञ्जिनियर रञ्जितकारले जानकारी दिए ।

यसैबीच, भद्रपुर नगरपालिकाको वडा नं ५ को कार्यालय पनि शनिबार नै स्थानान्तरण भएको छ । हाल वडा नं ५ मा रहेको नगरपालिकाको कार्यालय भद्रपुर–६ स्थित नयाँ भवनमा सरेपछि ५ नं वडा कार्यालय नगरपालिकाको पुरानो भवनमा सरेको हो ।
नगरपालिकाकै दक्षिणतर्फको भवनको सीमित कोठाहरुमा सञ्चालन हुँदै आएको वडा कार्यालय फराकिलो ठाउँमा स्थानान्तरण भएपछि सेवा प्रवाह सहज हुने वडाध्यक्ष बन्धु कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्