झापा , बैशाख २६ । एनएमसी कोपसप र सानो हाटबीचको सहकार्यमा झापामा अनलाईन सपिङ्ग प्रारम्भ गरिएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल र बिर्तामोडमा सञ्चालन प्रारम्भ भएको सानो हाट अनलाइन प्रा.लि.बीच सहकार्य गर्नेगरी करार भएको एनएमसी सहकारी पसलका प्रशासनिक प्रमुख नबिन भण्डारीले बताए । बैशाख २६ गते आइतबारदेखि प्रारम्भ गरिएको अनलाईन सपिङ्ग हाललाई बिर्तामोडको ५ किलोमिटर क्षेत्रभित्र लागू हुनेछ ।

सानो हाट नामक एप्पलीकेशन प्ले स्टोरबाट डाउनलोड गरी एनएमसी कोपसपबाट सामानहरु अर्डर गर्न सकिन्छ । सामान अर्डर गरेको एक घण्टाभित्र घरमै सामान डेलिभरी गरिने सानो हाटका सिइओ त्रिलोक कर्णले बताए ।
आमग्राहकलाई छिटो, सस्तो र सहज खरीदका लागि प्रभावकारी हुने अपेक्षाका साथ ल्याइएको योजना निकट भविष्यमा झापा जिल्लाभर सञ्चालन गरिने जनाइएको छ । एनएमसी कोपसपका झापा जिल्लाभर रहेका सम्पूर्ण पसलहरुबाट उक्त सुविधा प्रदान गरिनेछ । हाल झापा जिल्लाका शनिश्चरे, राजगढ, बनियानी, चारआली, चन्द्रगढी, दुधे, खुदुनाबारी, गौरीगञ्ज र बुधबारेमा एनएमसी कोपसपहरु सञ्चालनमा रहेका छन् । गौरादह, बिर्तामोड र काँकरभिट्टामा कोपसप सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।

कोभिड १९ को प्रभावलाई मध्यनजर गरी सुरक्षित खरीद बिक्री गरिने र अनावश्यक भीडभाडबाट ग्राहकहरुलाई बचाउनका लागि यो उत्तम उपाय हुनेछ । नियमित रुपमा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानहरु एनएमसी कोपसपबाट खरीद गर्न सकिनेछ । हाल कोरोना महामारी निण्न्त्रणका लागि एनएमसी कोपसप बिहान ७ः०० देखि ९ः३० सम्ममात्र खुल्ला रहेपनि अनलाइन सपिङ्गको सुविधा बिहान ७ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालनमा रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्