दमक , बैशाख २६ । दमकस्थित लाईफलाईन अस्पतालले आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारको लागि कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पतालको अस्थाई कोभिड वार्डको एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।
अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड वार्ड सञ्चालनमा ल्याईएको अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले जानकारी दिए । अहिले कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले यस्तो अवस्थामा सरकारी प्रयास मात्रै पर्याप्त नहुने भन्दै उनले आफूहरुले पनि कोराना संक्रमितहरुको उपचार सुुरु गरेको जानकारी दिए ।
अस्पतालमा उपचारको लागि आउने अन्य बिरामीहरुलाई असर नपर्नेगरी अहिले ३० बेडको छुट्टै कोभिड वार्ड सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक राजकुमार भट्टराईले जानकारी दिए । कोभिड वार्डमा दुईवटा भेन्टिलेटरसहित बिशेषज्ञ चिकित्सकहरुको टिमले सेवा दिने भन्दै उनले अक्सिजन सिलिण्डर पनि हाललाई पर्याप्त रहेको बताए । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएसंगै दमकमा पनि संक्रमितको संख्या दैनिक बढिरहेको छ । आइतबारसम्ममा दमकमा नयाँ भेरियन्टबाट ३१३ जना संक्रमित भैसकेका छन् भने उनीहरुमध्ये ७ जनाको मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । त्यसैगरी ३७ जना उपचारपछि निको भएका छन् भने अहिले २६९ जना सक्रिय संक्रमितहरुको बिभिन्न अस्पतालमा उपचार भैरहेको उनले बताए । यसअघि दमककै एड्भान्स अस्पतालले पनि कोरोना संक्रमितको उपचार सुरु गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्