दमक , बैशाख २६ । कोरोना भाईरसको महामारीले आक्रान्त बनाईरहेको समयमा तराईका किसानलाई भने कृषिको चटारो शुरु भएको छ ।

विशेष गरेर तराईका गाउँघरतिर यतिबेला मकै थन्क्याउने चटारोमा किसान छन् । कोरोना भाईरसको महामारीले सिङ्गो मुलुक नै ठप्पप्रायः बनेको भएपनि किसानलाई भने यो बिषम परिस्थितिमा बारीमा पाकेका मकैको व्यवस्थापन गर्ने चिन्ताले सताएको छ । झापा दमक १० का किसानलाई यतिबेला मकै थन्क्याउने चटारो शुरु भएको छ । दमक १० का किसान रमेशकुमार न्यौपानेले मुलुकमा महामारीकै रुपमा फैलिरहेको कोरोना संक्रमण र बैशाखयता शुरु भएको लगातारको बर्षाले कृषिकार्यमा थप समस्या भएको गुनासो गरे । हालको बिषम परिस्थितिकै बीच बारीमा लगाएको अनाज थन्क्याउने समय पनि भएको र मौसम पनि अनुकूल नहुँदा झनै समस्या भएको किसान न्यौपानेको भनाई छ ।
न्यौपानेले यो वर्ष करिब एक विगाह क्षेत्रफलमा चैते मकै लगाएका छन् । मौसम अनुकूल नहुँदा समस्या हुँदै गएको उनले गुनासो गरे । केही दिनअघि आएको हावापानीले मकैको बोटमा आंशिक रुपमा क्षति पुरयाएको थियो ।पाकिसकेका मकै हावाले भाचिदिएपछि निरन्तरको बर्षाले कुहिने हो कि भन्ने चिन्ता पनि उत्तिकै बढेर गएको न्यौपानेले बताए । न्यौपानेजस्तै यस क्षेत्रका धेरै किसानले हाइब्रेड जातका मकैको थोर बहुत खेती गरेका छन् । कृषि पेशासंगै पशुपालन व्यवसाय अँगालेका किसानका लागि मकै खेती अनिवार्य जस्तै मानिन्छ । कृषि क्षेत्रमा मजदुर नपाउने समस्या एकातिर छ भने मुलुकमा फैलिएको कोरोना महामारीको त्राससंगै कृषि क्षेत्रका लागि मौसम पनि अनुकूल नबन्दा खेतीमा गरेको लगानी नै डु्ब्ने हो कि भन्ने चिन्ता पनि किसानमा उत्तिकै रहेको छ ।
महँगो बीउ, मलखाद्य खरिद गरेर उच्च लागतमा दुःखले लगाएको बाली भित्र्याउन सहज नहुँदा लगानी नै डुब्ने हो कि भन्ने चिन्ता किसानलाई थपिएको छ । मंसिर महिनामा लगाएको मकै बैशाख अन्तिम सातामा किसानका बारीभरि पाकेका छन् । तर यो वर्ष पनि अनुकूल वातावरण नबन्दा किसानले सोचेजस्तो मकै थन्क्याउन र उचित बजार मूल्य पाउने संभावना पनि कमै रहेको अनुमान छ ।

कोरोनाको समयमा लगातारको पानीले बिर्तामोडका किसानहरुको बालीनालीमा समेत असर पुगेको छ । यो भन्दाअघि पानी नपरेर सुख्खाको मार उनीहरुले खेपेका थिए । अहिले एक सातायता दिनैपिच्छे पानी पर्ने क्रम जारी छ । लगातार पानी पर्ने क्रम बढेपछि भएका बाली बिग्रिएको बिर्तामोड नगरपालिका ९ का कृषक बृहस्पति सेडाईले बताए । पानीले गर्दा अब लगाउनुपर्ने बाली पनि लगाउन नपाएको उनको गुनासो छ । उनको बारीमा भएको फर्सी, काक्रा र अकबरे खुर्सानीमा पानीको असर देखिएको छ । पानीले ती बालीहरु कुहिन र मर्न थालेको सेडाईले बताए । उनी पछुवा भिन्डी खेती गर्ने तरखरमा छन् ।तर मौसमले साथ देला जस्तो छैन उनको भनाई छ ।