मेचीनगर, बैशाख २७ । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य विमा वापतको रकम सोमबार मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवलाई रकम हस्तान्तरण गरेका छन् ।
आफ्नो १८ औँ वैवाहिक वर्षगाँठको अवसरमा रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिने घोषणा गरेका थिए ।

चिमरियाले जो स्वास्थ्य विमा गराउन नसकिरहेका परिवारका निम्ति सानो सहयोगको गरेको बताए । उनले आफ्नो विशेष दिनलाई समाजसँग जोडेर हितकारी काममा लगाएको र त्यसैलाई निरन्तरता दिने प्रयास गरेको बताए ।
सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत विमा गराएकाको उपचार निशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको विमा गराएवापत पाँच सदस्य बराबर ३ हजार ५ सय वार्षिक शुल्क बुझाउनु पर्छ । उक्त रकम बुझाएवापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।

समाजसेवी चिमरियाले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ गरिबदुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको बताए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने– ‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरेको हुँ ।’ उनले आउँदो कात्तिक १६ गते आफ्नो जन्मदिनको अवसरमा १५ घरपरिवारको स्वास्थ्य विमा गरिदिने घोषणा पनि गरेका छन् ।
चारआली–धाइजन निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । हरेक वर्ष बैशाख २७ गते वैवाहिक वर्षगाँठ र आफ्नो जन्मदिन कात्तिक १६ गते यसरी नै सहयोग गर्दै आएका छन् ।
विमा रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी चिमरियाकी श्रीमती गौरा मैनाली चिमरिया, नगर उपप्रमुख मीना उप्रेती, वडाध्यक्ष नगेन्द्र मेचे, नविन बराललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्