बिर्तामोड,बैशाख २९ । कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि झापामा आगामी जेठदेखि निषेधाज्ञालाई कडाई गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जेठदेखि कठोर निषेधाज्ञा हुने बताएका हुन् । जिल्ला समन्वय समिति झापाले जुममार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संक्रमणको जोखिमलाई ख्याल गर्दै कठोर निषेधाज्ञा गर्नुको विकल्प नरहेको जानकारी दिए । झापाको वर्तमान अवस्थाबारे जानकारी दिदैं उनले जिल्लामा मृत्यु र संक्रमण दर बढ्दै गएको बताए । जिल्लामा कोरोनाको संक्रमण, नियन्त्रण, उपचार र समन्वयका बारेमा जानकारी दिँदै प्रजिअ तिमिल्सिनाले मुख्य चुनौती उपचार भएको बताए । इलाम, पाँचथर र ताप्लेजुङसहित अन्य जिल्लाबाट समेत उपचारका लागि झापा आउने क्रम बढिरहेको भन्दै उनले उपचार सेवा विस्तार गर्नैपर्नेमा जोड दिए । प्रजिअ तिमिल्सिनाले आइसोलेसन, एचडीयू, अक्सिजनको उपलब्धताका बारेमा समेत जानकारी दिए । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले निषेधाज्ञाको उल्लंघन बढ्दै गएकाले त्यसको कार्यान्वयनमा कडाई गर्न आग्रह गरे ।
यसैबीच गौरीगञ्जमा बुधबार मध्यरातदेखि जेठ ३ गतेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । बुधबार दिउँसो बसेको पालिकास्तरीय सीसीएमसीको बैठकले सो निर्णय गरेको हो । बैठकले गौरीगञ्जमा संक्रमितहरुको सँख्या बढ्दै गएकाले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी संभावित संक्रमितहरुलाई परीक्षणको दायरामा ल्याउने तथा संक्रमणको चक्र तोड्न जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको निषेधाज्ञा यथावत राख्दै प्रशासनसँग सहमति लिई पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक कामबाहेक गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण हाटबजार, पसल, बैंक, वित्तीय संस्था , कार्यालय, सवारीसाधन पूर्णरुपमा बन्द गराउने निर्णय गरेको छ ।त्यसैगरी लकडाउन अबधिभित्र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी संभावित संक्रमितहरुको पिसिआर वा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । लकडाउनको अबधिभित्र कुनै कार्यालय तथा संस्थाहरुले आफ्नोे आन्तरिक काम गर्नुपरे गाउँपालिका तथा सुरक्षा निकायसँग अनुमति लिई गर्न सक्ने तर यसरी आन्तरिक कामकाज गर्दा समेत सकेसम्म कम कर्मचारीहरुको उपस्थितिमा कामकाज गर्न पाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्