झापा, बैशाख ३० । कोरोना संक्रमणबाट संक्रमित काँकरभिट्टाकी एक जना महिलाको बाटोमै मृत्यु भएको छ ।

मेचीनगर–६ स्थित शान्ति गाउँकी ४३ वर्षीया महिलाको आज मेची अस्पताल भद्रपुरबाट बिएण्डसी थप उपचारका लागि ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । सोमबार उनलाई ज्वरो, रुघाखोकी लागेर बिर्तामोडको बिर्तासिटी अस्पतालमा लगिएको थियो । त्यहाँबाट रेफर गरेर बिएण्डसी अस्पताल उपचारका लागि ल्याईएको थियो । सोही अस्पतालमा एन्टिजेन जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

बिएण्डसीमा उपचारका क्रममा पचास हजार रुपैयाँ धरौटी मागेपछि आर्थिक अवस्था कमजोर भएकाले त्यहाँबाट सोमबारै धाइजनको आईसोलेसन सेन्टरमा ल्याईएको श्रोतको भनाइ छ । उनको धाइजनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।
आईसोलेसन सेन्टरमा उपचारका क्रममा समस्या आएपछि मंगलबार थप उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेचीमा पनि विरामीको अवस्था झन् जटिल बनेपछि थप उपचारका लागि फेरि बिएण्डसी ल्याउने क्रममा आज विहान १० वजे चारआली जंगलमा मृत्यु भएको परिवारले जनाएको छ । ।ंउनका श्रीमान र तीनजना छोरीहरु छन् । योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । काँकरभिट्टामा मात्र कोरानाबाट मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ ।

यसैबीच नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ तथा भद्रपुर नगर समितिले कोरोना संक्रमणको केन्द्र बन्दै गएको भद्रपुर नगरक्षेत्रमा रोग नियन्त्रणमा खेलवाड भएको भन्दै सच्चिन नगरपालिकालाई चेतावनी दिएको छ ।
दैनिक कोभिड १९ संक्रमण तीब्र बन्दै गएको भद्रपुर नगरपालिकामा नगर प्रशासनले न्यूनतम ख्याल नगर्दा रोगी उपचारमा पुग्न नपाई मर्नुपर्ने बाध्यता रहेको भन्दै काँग्रेसले नगरपालिकालाई जिम्मेवार बन्न अनुरोधसहित सच्चिन चेतावनी दिएको हो ।
काँग्रेसले पछिल्लोपटक भद्रपुरका युवाले अक्सिजन नपाउँदा एम्बुलेन्समै जीवन समाप्त गर्नुपरेको घटनाप्रति लक्षित गरेर नगरपालिकाको लापरवाही सच्याउन माग गरेको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ—‘भद्रपुर नगरपालिका वडा नं ४ निवासी कोरोना संक्रमित युवा अनुप राजवंशीको भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्वुलेन्समा राखी उपचारका लागि अस्पताल लैजाने क्रममा एम्वुलेन्समा अक्सिजनको व्यवस्था नभएका कारण मृत्यु भएको भन्ने सामाजिक सञ्जाल समेत मार्फत मृतकका परिवारले बताएको तथ्यप्रति हाम्रो पार्टी नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । सामान्य व्यवस्थापकीय जिम्मेवारीभित्र पर्ने यस किसिमका विषयलाई नजरअन्दाज गर्दा त्यसले निम्त्याउने अपुरणीय क्षतिप्रति उच्च संवेदनशील हुँदै नगरपालिकाद्वारा सञ्चालित एम्वुलेन्समा अविलम्ब अक्सिजन राख्ने व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण गर्दछौं । साथै संकटको यस घडीमा जनस्वास्थ्यसम्वन्धी मुख्य प्राथमिक कर्तव्यबाट विचलित भद्रपुर नगरपालिका र यसको नेतृत्वलाई आफ्नो सोच तथा कार्यशैलीमा तत्कालै सुधार गर्दै कोरोना संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणमा आफ्नो सम्पूर्ण शक्तिलाई परिचालन गरी जवाफदेही ढंगले जिम्मेवारी पूरा गर्न सचेत खवरदारी गर्दछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्