झापा, बैशाख ३० । कोरोेना संक्रमणबाट मृत्युदर बढ्ने क्रममा पछिल्लो चौबीस घण्टामा झापाका चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा एक महिला र तीन पुरुष रहेका छन् । यसक्रममा कोरोना संक्रमणबाट संक्रमित काँकरभिट्टाकी एक जना महिलाको बाटोमै मृत्यु भएको छ ।
मेचीनगर–६ स्थित शान्तिगाउँकी ४३ वर्षीया महिलाको बिहीबार मेची अस्पताल भद्रपुरबाट बिएण्डसी थप उपचारका लागि ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । सोमबार उनलाई ज्वरो, रुघाखोकी लागेर बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेर बिएण्डसी अस्पताल उपचारका लागि ल्याईएको थियो । सोही अस्पतालमा एन्टिजेन जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।
बिएण्डसीमा उपचारका क्रममा पचास हजार रुपैयाँ धरौटी मागेपछि आर्थिक अवस्था कमजोर भएकाले त्यहाँबाट सोमबारै धाइजनको आईसोलेसन सेन्टरमा ल्याईएको श्रोतको भनाइ छ । उनको धाइजनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।
आईसोलेसन सेन्टरमा उपचारका क्रममा समस्या आएपछि मंगलबार थप उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेचीमा पनि विरामीको अवस्था झन् जटिल बनेपछि थप उपचारका लागि फेरि बिएण्डसी ल्याउने क्रममा बिहीबार विहान १० वजे चारआली जंगलमा मृत्यु भएको परिवारले जनाएको छ । ।ंउनका श्रीमान र तीनजना छोरीहरु छन् । योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । काँकरभिट्टामा मात्र कोरानाबाट मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ । बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु
त्यस्तै बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ४ का निरौला थरका ९० वर्षिय बृद्ध रहेका छन् । उनको बुधबार राति ११.५ बजे होम आइसालेसनमा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिए । ती बृद्धलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको र त्यसपछि उनी घरमै होम आइसोलेसनमा रहेका थिए । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएयता बिर्तामोडमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
त्यस्तै गौरीगञ्ज ६ का एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अन्य स्वास्थ्य समस्यासमेत भएका ६० बर्षिय बृद्धको उपचारका क्रममा केही दिनअघि कोरोना परीक्षण गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले उपचारकै क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि कोशी कोभिड अस्पतालमा राखिएकोमा बिहीबार उनको निधन भएको बताए । यसअघिको पहिलो लहरको संक्रमणमा समेत सोही वडामा एकजनाको मृत्यु भएको थियो ।
त्यस्तै कनकाई नगरपालिकाका एक कोरोना संक्रमितको बुधबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं.७ का ६० वर्षिय खरेल थरका बृद्ध रहेका छन् । होम आइसोलेसनमा रहेका ती बृद्धको शरीरमा अक्सिजनको मात्रा कम भएर मेची अस्पतालमा पुर्याउँदा नपुर्याउँदै साँझ ६ः ३० बजे मृत्यु भएको परिवारले जनाएको छ । योसँगै कनकाईमा कोरोनाको नयाँ भेरियन्टबाट ३ जनाको मृत्यु भएको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १७० पुगेको छ ।