तपाई विहान उठने बित्तिकै के हेर्नु हुन्छ ?अनि राति सुत्नुभन्दा पहिलासम्म के गर्नु हुन्छ ? धेरैको उत्तर हुन सक्छ मोवाईल हेर्छु । हो,हामी आजभोलि धेरै समय मोवाईल हेर्ने गर्दछौ मोवाईलमै समय व्यतित गर्दैछौ । हामी कतै हिड्न लागेका छौ भने पर्स भुल्दा हामीलाई फरक पर्दैन तर मोवाईल बोक्न भुल्दा हामी फर्केर भएपनि मोवाईल बोक्दछौ । त्यसैले आजभोलि हाम्रो जीवनमा मोवाईल फस्ट भएको छ ।

के वृद्ध, के युवा ,के बालक सबैजना मोवाईलमा व्यस्त हाम्रो समाज भएको छ ।
मार्टीन कूपरले सन् १९७३ मा मोटोरोला कम्पनीको मोवाईल आविष्कार गरेका थिए । फोन बोल्नका लागि मात्र आविष्कार भएको थियो । समयसँगैै मोवाईलको विकास हुँदै गयो । सन् २००८ बाट एन्ड्रोइड भर्सन आयो र स्मार्ट फोनको आविष्कारले मोवाईल जगतमा तहल्का मच्चायो । बिहान उठेदेखि फोनमा घोत्लिनु आजको दिनचर्या भएको छ । विभिन्न सामाजिक सन्जालहरु बनेका छन् ।

समय हेर्न घडी थियो । समाचार तथा गीतहरु सुन्न रेडियो टिभी थियो । महिना, बार र साईत हेर्न भित्तेपात्रोहरु थिए । सिनेमा हेर्न सिनेमाहलहरु थिए ।सबैको आफ्नो आफ्नो विशेषता थिए तर मोवाइलले यी सबैको महत्व गिरायो । हातको हत्केलामा बोक्न सक्ने फोनमा यी सबै सुविधा पाउने भइयो । यसको लागि साथ चाहियो इन्टरनेट ।
सन १९६७मा इन्टरनेटको आविष्कार भएको थियो । भने नेपालमा हालसम्म करिव २५ लाखले इन्टरनेट प्रयोग गरेको एक तथ्याङ्कले देखाएको छ । हामी राति मोवाईल हेदै निदाउने भएका छौ । विहान उठने वित्तिकै मोवाईल तानी हाल्छौ ।दिनभरि सामाजिक संजालमा झुिण्डइरहँदा बालबालिकाको मानसिकतामा मनोवैज्ञानिक असर परेको छ भने युवामा पनि यसको असर पर्ने गरेको छ ।

देशविदेशमा रहेका आफन्तहरुसंग गफ गर्छु । सन्चोे विसन्चो थाहा पाउँछु । विभिन्न जानकारी , खबरहरु यसमा आउँछ । शहरको बसाई करेसाबारीतिर काम गरौ भन्दा करेसावारी छैन । खेतबारीमा काम गरौ भने काम गर्ने शक्ति छैन । भलाकुसारी गरौ भने दिनभरि घरमा कोही हँुदैन कसरी दिन बिताउनु भन्ने चिन्ता आज हरेक वृद्घवृद्घालाई छ । भएका छोराछोरी पनि विदेशमा छन् । घरमा भएका काममा जान्छन् के गर्नु ! धन्न यो मोवाईल छ भनेर एकजना छिमेकी हजुरआमाले आफ्नो व्यथा बताउनु भयो । यो उमेरमा आएर यसरी मोवाईल हाम्रो साथी भएको छ । यसो सोचे कागको साथी काग भनेझै वृद्घ बुबाआमाको साथी भनेकै वृद्घ नै चाहिन्छ । आजको समय परिस्थिति अनि एक्लोपनको साथी मोवाईल भएकोमा मलाई खुसी नै लाग्यो । तर हाम्रो उमेर त मोवाईलमा समय बिताउने हैन केही नयाँ गर्ने हो । मोवाईलको प्रयोग कसरी गर्ने भन्ने आफूमा भर पर्दछ । मोवाईल चलाउनु नराम्रो हैन तर यसको प्रयोग कसरी गरेका छौ हामीले ?कुनै दिन मोवाईलबाट केही नयाँ कुरा खोज्यौ हामीले । राति निन्द्रा नलागेसम्म मोवाईलमा हामीले के हेर्यौ ? केही नयाँ खोज गर्यौ ?जीवन बदल्न वा जीवनमा सिक्न केही मोवाईलबाट सिक्यौ ?बिहान उठने वित्तिकै मोवाईल तानेर के हेर्र्यौ ?जीवनमा लाईक कमेन्ट अनि सेयर हेर्न मात्र मोवाईल प्रयोग भएको छ कि अन्य केही नयाँ कुरा सिक्न पनि यसलाई प्रयोग गर्नु भएको छ त्यो तपाईमा भर पर्दछ । ट्वीट्र,इस्टाग्राम,टिकटक आजभोलि धेरै प्रयोग गरिएका सामाजिक संजाल भएका छन् । युटुव त सागरै भैगयो हामीलाई जे हेर्न मन छ त्यही त्यसमा पाउँदछौ । यसरी सामाजिक संजालहरुले हामीलाई हाम्रो दिमाखमा जड गाडेको अवस्थामा हाम्रो दिमाखलाई कसरी संचालन गर्ने भन्ने हाम्रो आफ्नो कुरा हो । ६ महिनाको नानीदेखि लिएर ९० बर्षको वृद्घसम्मको लागि मोवाईल अत्यावश्यक चिज भएको छ । आजभोलिका नानीहरुलाई खाना खुवाउन मोवाईलमा विभिन्न कार्टुन वा गीत देखाउने गरिन्छ जसले गर्दा नानीहरुले त्यो हेर्दै खाना खान्छन् । सानो हुँदा हामीले मोवाईल देखाउँछौ अलि बुझ्ने भएपछि उनीहरु आफै मोवाईल नदेखाई खाना खादैनन् । यो अवस्था दिनप्रतिदिन बढ्दै गएको छ ।

हिजोको दिनमा सबैजना भेला भएर टिभी हेरिन्थ्यो । समाचार हेरिन्थ्यो । तर आज कयौको घरमा टिभी त होला तर टिभी नचल्न सक्छ !कति महिनादेखि टिभीको महशुल नवुझाएको होला । टेलिफोन होला तर बिल नबुझाएर लाईन डेड भैसक्यो होला । कारण सबैैको हात हातमा मोवाईल ।
अफिसबाट वा आफ्नो व्यवसायबाट घर पुग्यो घरमा मान्छे छन् की छैनन् जस्तो हुन्छ । एउटै कोठामा बसे पनि सबै आफ्नो आफ्नो फोनमा नै व्यस्त देखिन्छन् । घरमा हेर्नु पर्छ श्रीमान होस् या श्रीमती आफ्नो आफ्नो फोनमा नै व्यस्त देखिन्छन् । श्रीमान नहुँदा भयो तर मोवाईल चाहिन्छ । श्रीमती नहँुदा भयो तर मोवाईल चाहियो । यस्तो अवस्था आज हरेक घरको समस्या नहोला भन्न सकिन्न । छोराछोरीलाई गाली गर्छौ धेरै मोवाईल नहेर भनेर तर आफू त्यही गरिरहेका छौ । फोनको साथ कुन बेला नहोस् जस्तो लाग्छ होला ? मैले केही साथीहरुमा गरेको अनुसन्धान हो । कसैलाई पैसा तिर्न छ भने फोन साथमा नहोस् जस्तो हुन्छ । आफ्नो विषयमा नराम्रो खवर भएमा सामाजिक संजालमा नबस्न पाए जस्तो हुन्छ । यसरी प्रविधिले हामीलाई जोडाउने हैन छुटाउने गरेको भान हुन्छ ।

नजिकलाई टाढा र टाढालार्ई नजिक मोवाईलले बनाएको छ । परिवारको साथ आफन्तको साथभन्दा पनि महत्वपूर्ण मोवाईलको साथ आज सबैले खोजेका छन् । मोवाईल नै जीवनजस्तो भएको छ । आफ्नो जीवनको महत्वपूर्ण अंग हाम्रो शरीरमा धेरै छन् , मोवाईल महत्वपूर्ण अंग हैन यो हामीले बुझ्न जरुरी छ । अन्य धेरै कुरा मानिसको जीवनमा फस्ट हुन सक्छ, तर मोवाईललाई फस्ट नसम्झौ । यो भौतिक आवश्यकता होला तर अतिआवश्यकता नठानौ ।मोवाईलको प्रयोगले दिनप्रतिदिन आँखा कमजोर हुँदै गएको छ । मानसिक तनाव बढ्दो छ । समय खेर गइरहेको छ । मोवाइललाई हामीले प्रयोग गरौ, मोवाईलले हामीलाई प्रयोग गर्न नसकोस् ।
घरमा ५ बर्षको छोराले खुत्रुके ल्याई दिनु भनेर हैरान बनायो । किन बाबु खुत्रुके भनेको । छोराले भन्यो– खुत्रुकेमा पैसा जम्मा गर्छु । मलाई खुसी लाग्यो छोराले बचत गर्नु पर्छ भन्ने सोच यो बेलाबाट बनायो भनेर अनि सोधे के गर्छाै पैसाले ?छोराले जवाफ दियो–मोवाईल किन्छु !हजुरको भन्दा ठूलो मोवाईल किन्छु ! यी अवोध बालकको मानसपटलमा त मोवाईल यति गढेको छ । यो मेरो छोराको मात्र भनाई नहुन सक्छ किनकी आज हरेक बालकदेखि युवासम्मको चाहना मोवाईल बोक्ने भएको छ ।मोवाईलको प्रयोगले कतिले घरबार बिगारेका छन् त कतिले ज्यानै गुमाउनु परेको छ त्यसैले हामीले मोवाईलको प्रयोग जान्न बुझ्न र आवश्यकतामा प्रयोग गरौ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्