बिर्तामोड , बैशाख ३१ । झापाको मेचीनगर–६ काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएको बिर्तामोडका एक परिवारलाई ५० हजार नगद सहयोग गरेको छ ।

एनएमसी सहकारीको बिर्तामोड–१० सैनिकबजार शाखाअन्तर्गत शेयर सदस्य टिकादेवी चुडालको निधन भएको चौथो दिनमा चुडालको घरमा पुगेर सहकारीले ५० हजार रुपैयाँ प्रदान गरेको हो । सहकारीको सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया सुनुवार, कार्यालय प्रमुख विशाल ढुंगाना, कर्मचारी पवन मैनाली, लुवराज प्रसाईलगायतको टोलीले स्व.चुडालको परिवारलाई समवेदनापत्रसहित राहत रकम हस्तान्तरण गरेको थियो ।कोरोना महामारीको संकटको विषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै सदस्यको दुःखसुखमा साथ दिइरहेको सहकारीले जनाएको छ।
संस्थामा दश हजार रुपैयाँभन्दा बढी शेयर भएका दम्पती(श्रीमान् श्रीमतीमध्ये एक)को मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्