झापा , जेठ १ । प्रहरी प्रशासनले आजदेखि कडाइका साथ पूर्ण निषेधाज्ञा लगाएसंगै पहिलो दिन झापामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन ।

केही दिनदेखि प्रत्येक दिन ४–५ जनाको दरले कोरोना संक्रमणबाट मृत्यु हुने गरेको झापामा हिजो एक जनाले ज्यान गुमाउनु परेको थियो ।तर , आज कसैको पनि मृत्यु भएन । पूर्ण निषेधाज्ञाका कारण मानिसको भीडभाड घटेसँगै संक्रमण र मृत्यु दर घटेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘आज कसैको पनि मृत्यु भएन यो राम्रो खबर हो ’उनले भने ,‘निषेधाज्ञालाई सबैले पालना गर्ने हो भने संक्रमण अबश्य घट्छ ।’
झापामा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार संक्रमितको सँंख्या अझ घटेको छ । अस्ति बिहीबार २७६ जनालाई संक्रमण देखिएकोमा हिजो शुक्रबार २१३ जना संक्रमित थपिएका थिए । तर , आज संक्रमितको सँख्या १९७ मा झरेको छ । जसमा १७८ जना पीसीआर र १९ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको हो ।संक्रमितमध्ये ८३ जना महिला छन् । सबैभन्दा बढी बिर्तामोडका ३९ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १६ महिला र २३ पुरुष छन् । यस्तै, दमकका १२ महिलासहित २४ जना, भद्रपुरका ८ महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यसैगरी, अर्जुनधाराका ८ महिलासहित २२ जना, मेचीनगरका ५ महिलासहित १२ जना ,गौरादहका २ महिलासहित ३ जना ,कनकाईमा ८ महिलासहित १६ जना,हल्दीवारीका ३ महिलासहित ८ जना , बुद्धशान्तिमा ३ महिलासहित ८ जना, शिवसताक्षीमा ३ महिलासहित ११ जना, कचनकवलमा २ पुरुषमा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् ।यस्तै, कमलका १ महिलासहित ४ जना, झापा गाउँपालिकाका १३ महिलासहित २३ जना र पालिका नखुलेका एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमित संख्या ७९३६पुगेको छ भने निको हुनेको संख्या ४८६९ रहेको छ । यस्तै, सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररतको संख्या २६१३ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्