बिर्तामोड , जेठ २ । झापा जिल्ला सहकारी संघले कोरोनाको महामारीमा खटिने सुरक्षाकर्मीहरुका लागि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

आइतवार संघका अध्यक्ष गणेश ढकाल र सचिब भानु दंगालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको सहकारी संघको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संघले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका लागि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको जनाएको छ । तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय झापाको प्राङ्गणमा पुगेर अध्यक्ष ढकाल , सचिव दंगाललगायतले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए । जिल्ला सहकारी संघको आन्तरिक कोषबाट खर्च गरी स्वास्थ्य सुरक्षा सामग्री खरिद गरेर प्रशासनलाई हस्तान्तरण गरिएको सचिव दंगालले जानकारी दिए । उनका अनुसार प्रदान गरिएका सामग्रीहरुमा पिपिई सेट ६० थान, मास्क १०हजार थान, फेस सिल्ड १ हजार थान, सेनिटाईजर १०हजार लिटर, हेण्ड ग्लोब्स १ हजार सेट लगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्