सुरेश आले ‘सर्जु’,
बिर्तामोड, जेठ २ । ठगका अनेक रुपहरु हुन्छन् । प्रबिधिको विकाससँगै अनलाईन ठगी नयाँ तरिका हो । एटिएम मेसिनबाट पैसा निकाल्नु, फोनबाट बैंक डिटेल लिएर जनतालाई धोखा दिनु ठगीको क्रम जारी छ । मोबाईलको जमानामा आजकाल बिभिन्न फेक र फर्जी लिंक बनाई बिभिन्न साइट खोलेर मोबाईलमा अनेक लोभ लालच देखाई आकर्षक लिंकमार्फत मानिसहरुलाई लोभ्याउने गरिन्छ । जानीजानी वा नजानेर मोबाईल प्रयोगकर्ताहरु त्यो लिंकमा क्लिक गर्न थाल्छन् । फलस्वरुप मोबाईल प्रयोगकर्ताको सम्पूर्ण डिटेल ठगको साथमा पुग्छ । यसरी ठगले सम्पूर्ण विवरण प्राप्त गरेपछि आफ्नो जाल फिजाउन शुरु गर्छ ।

ठगिएका तिवारी

अनलाईन ठगहरुले अहिले कौन बनेगा करोडपतिलाई ठगीको माध्यम बनाएका छन् । केबिसी अथवा कौन बनेगा करोडपति मार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै मेसेज वा वाट्सएप मार्फत कल गरेर जानकारी दिन्छन् । यस्तो मेसेजमा अमिताभ बच्चनले होस्ट गरेको सोनी टिभीबाट प्रसारण हुने तस्बिर लगाईएको हुन्छ ।साथै चाँडोभन्दा चाँडो आफ्नो डकुमेन्ट पठाई सो चिठ्ठा प्राप्त गर्न भनिएको हुन्छ ।
यस विज्ञान र टेक्निकको जमानामा पनि हामी मेहनत नै नगरी पैसाको सपना देख्छौ । धेरैभन्दा धेरै पैसा कमाउने चाहन्छौ ।
मानिसको यही सोंच ठगको लागि बरदान बन्छ । चिठ्ठाको लोभमा आफ्नो बैंक डिटेल दिएपछि ठगले आफ्नो मेहनतको कमाई खाईदिन्छ । टेलिभिजन शोमा देखाएजस्तै करोडौ रुपैयाँ जित्ने अभिलाषाले बिना सोच, समझ मानिसहरु ठगको फोन रिसिभ गर्न र उनको चंगुलमा फस्न पछि पर्दैनन् ।
बिर्तामोड नगरपालिका ३ मा फार्मेसी संचालक ठगिएको यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । उनको मोबाईलमा आएको कौन बनेगा करोडपतिको मैसेजले गर्दा उनको हजारौ रुपैयाँ पानीमा गएको छ । कुरा आजभन्दा एक महिना अगाडीको हो । बिर्तामोड ३ सैनिकमोडका फार्मेसी संचालक लयप्रसाद तिवारीको फोनमा स्पेशल मिडियाको सहयोगमा मैसेज र वाट्सएप मार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको जानकारी आयो – ‘म कौन बनेगा करोडपतिबाट बोलेको तपाईले कर क्लियर गर्नको लागि भारतमा भारु १२ हजार २०० पहिले पठाउनु पर्छ र केही डकुमेन्ट जम्मा गर्नु पर्छ ।’ उताबाट फोन आएपछि उनले यो कुरा कसैलाई नभनी आफूखुशीले यो काम गरे अर्थात बिर्तामोडको एसबिआई बैंकमार्फत १२ हजार २०० भारु पठाईदिए । त्यसपछि फेरि पठाउन भनेपछि ५ हजार भारु हिसाब मिलानको लागि पठाए । ‘अब तपाईको खातामा पैसा पठाईदिन्छौ ’भने ।बीचमा केही समय अलमल गरी अनेकन बहाना बनाई विभिन्न प्रश्न सोध्दै फकाउँदै ‘अब भारततर्फको प्रोसेस सकियो, नेपाल चितवनमा सम्पर्क गर्नु’ भनेर वाट्सएपको नम्बर आयो । त्यहाँ सम्पर्क गर्दा पैसा नेपालमा आईसकेको र अब नेपालको कर तिर्न २२ हजार रकम पठाउन खाता नम्बर दिए । नत्र पैसा फिर्ता जाने जवाफ दिए । २५ लाख रुपैयाँको आशमा तिवारीले बैंक खातामा २२ हजार हाली दिए । पछि जानकारी आयो– चितवनबाट काम सकियो । अब तपाईले काठमाडौँ सम्पर्क गर्ने ’ भनी वाट्सएपको नम्बर आयो र २५ लाख रुपैयाँको चेकको फोटो आफ्नो नामको वाट्सएपमा देखाईयो ।
काठमाडौँमा सम्पर्क गर्दा अब फाईनल प्रोसेसको लागि ४० हजार लाग्छ । ‘तपाई आफै आउनु नत्र बैंकमार्फत पठाई दिनु’ भने ।
लयले एकजना काठमाडौँ बस्ने साथीमार्फत यो कुरा काठमाडौँमा बुझीदिन आग्रह गरे । न काठमाडौँ पुतलीसडकमा त्यो अफिस छ न वाट्सएपको नम्बरमा फोन लाग्छ । तबसम्म सबै वाट्सएपको नम्बरहरु बन्द भैसकेको थियो । तब लयलाई थाहा भयो कि केबिसीको नाममा आफू ठगिएको ।

ठग्ने तरिका

ठगीको खेल
लयलाई मात्र होइन, यस्तै २५ लाख चिठ्ठा परेको वाट्सएपबाट फोन आफूलाई पनि आएको बिर्तामोड ९ का तुलसी सेडाईले सुनाए । ‘नागरिकताको फोटोकपी वाट्सएपमार्फत पठाउनु भनेका थिए’ उनले भने, ‘तर मैले यो ठगीको गिरोह भनेर त्यसो गरिनँ ।’

अक्सर यस्तो फोन ००९२ बाट शुरु भएर आउँंछ । त्योबाट केही प्रश्न सोधिएको जस्तो पनि गर्छन् । भाषा नेपाली र हिन्दी दुवै प्रयोग गर्छन् । यो भारतीय टिभीमा प्रसारण हुने कौन बनेगा करोडपति कार्यक्रमको नक्कल गरिएको ठगीको रुप हो । यो दुबई, भारत हुँदै बिश्वब्यापी फैलिएको छ । भारतीय प्रहरीले यसको अनुसन्धान जारी राखेको छ ।आफ्नो बैंक आईडी पासवर्ड कसैलाई नदिएर चिठ्ठा वा उपहार त्यति सजिलै पर्दैन भनेर यो घटनाबाट साबधानी अपनाउन सकिन्छ ।मोबाईलमा जथाभाबी साईट खोलेर क्लिक पनि गर्नु हँुदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्