बुधबारे , जेठ ३ । बुद्धशान्ति गाउँपालिकाले अक्सिजनसहितको १५ बेडको आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ ।

महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरी गाउँपालिकामा सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताइन् ।
विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्तिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।
हाल १५ बेड तयारी अवस्थामा रहेकोमा विरामीको चाप बढे थप बेड सञ्चालन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्