बिर्तामोड , जेठ ४ । बिर्तामोड नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा उपचार नपाएर एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिर्तामोड वडा नं ६ का ७९ वर्षिय नन्दकमल गिरीको उपचार अभावमा मृत्यु भएको हो । नगरपालिकाले संचालन गरेको कोभिड अस्पतालमा संक्रमितलाई लिएर जाँदा न त्यहाँ अक्सिजन , न भेन्टिलेटर केहीको पनि व्यवस्था नभएकोले फर्काएर घर ल्याउनु परेको बिर्तामोड ६ का वडा सदस्य एनबिन्द्र खत्रीले बताए । कोरोनाको विरामी लिएर जाँदा त्यहाँका स्वास्थ्यकर्मीहरुले कुनै ‘रेस्पोन्स’ नै नगरेको उनले गुनासो गरे । ‘बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोभिड हस्पिटलमा ३ घण्टा राखेर लाखौं बिन्ती गर्दा पनि एउटा डाक्टर र कर्मचारी आएर औषधि गर्नु त परको कुरा, भित्र लानसम्म मानेनन्’ स्थानीय दीपक रायमाझीले भने । ‘हस्पिटलमा न अक्सिजन छ न आइसियु छ’उनले आक्रोश पोखे,‘ कोरोना पोजिटिभ बिरामी देख्दा तर्सेर भाग्ने कर्मचारी राखेर जनता बचाउँछु भन्ने नगरपालिका र सम्बन्धित निकायको झुटो आश्वासनमा बाँच्न विवश हामी अकालमै मर्दैछौं ।’

नगर अस्पतालले उपचार गर्न नमानेपछि फर्काएर घर ल्याउँदै गर्दा उनको बाटैमा हिजो बेलुका ७.४५ बजे मृत्यु भएको हो । दुई दिनअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गिरी मुटुको समस्याबाट समेत पीडित थिए । बिएण्डसी हस्पिटलमा उनले मुटुको उपचार गरिरहेका थिए । उपचारकै क्रममा कोरोना देखिएको वडा सदस्य खत्रीले बताए । बिएण्डसी हस्पिटलले कोरोनाको उपचारका लागि दुई लाख धरौटी मागेपछि र करिव १० लाख जति खर्च हुने भएपछि आफूहरुले सरकारी नगर अस्पताल लिएर गएको वडा सदस्य खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्