झापा, जेठ ४ । झापाका ९ जनाको आज एकैदिन कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ५ पुरुष छन् ।

भद्रपुरका २ , दमकका २ , बिर्तामोडका २ , मेचीनगरका १ , बुद्धशान्तिका १ र कनकाईका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भद्रपुरमा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको एक सातापछि बुवाको पनि कोरोनाकै कारण मृत्यु भएको छ । साविक महेशपुर –१ मन्त्रीबारी हाल भद्रपुर वडा नं –४ का ७६ बर्षिय सुरेनचन्द्र राजवंशीको कोरोनाका कारण मंगलवार बिहान ४ बजे आफ्नै निजी निवासमा मृत्यु भएको हो । गत शुक्रबार पिसिआर टेस्ट गराउँदा पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहेका थिए । गत साता उनका छोरा ४८ बर्षिय अनुप राजवंशीको पनि कोरोनाका कारण मृत्यु भएको थियो । त्यसैगरी भद्रपुरमै अर्का बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका भद्रपुर ६ का ७१ वर्षिय बृद्धको दिउँसो घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै भद्रपुरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।
त्यस्तै दमकका दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ५ स्थित हरीऊँ कोलनीमा बस्ने ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान ३.१५ बजे मृत्यु भएको हो । उनी बैशाख ३० गतेदेखि त्यस अस्पतालमा उपचाररत थिइन् । बैशाख २४ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनलाई पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । त्यस्तै बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा आज बिहान दमकका कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ८ की तामाङ थरकी ६२ वर्षिया महिला रहेकी छन् । दमकमा दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ६ महिला र ४ पुरुषसहित १० जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दाबढी सक्रिय संक्रमित छन् ।

त्यस्तै बिर्तामोडमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा आज बिहान मृत्यु हुनेमा बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिला रहेकी छन् । दमक र बिर्तामोडका दुई महिलाहरुको उपचारका क्रममा बिहान साढे ७ बजेतिर मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए । त्यस्तै बिर्तामोड ६ का ७९ वर्षिय गिरी थरका बृद्धको गएराति बाटैमा मृत्यु भएको छ । बिर्तामोड नगरपालिकाले संचालन गरेको नगर अस्पताल लगिएकोमा त्यहाँ उपचार नभएपछि घरतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।

त्यस्तै मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सामाजिक विकास शाखाका नविन बरालले बताए । उनी मेचीनगर नगरपालिकाका कर्मचारी हुन् । उनी विद्युत शाखामा कार्यरत रहेको बरालले जानकारी दिए । मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ । त्यस्तै बुद्धशान्तिमा नयाँ भेरियन्टबाट पहिलो मृत्यु भएको छ । बुद्धशान्ति ७ का प्रधान थरका ४२ वर्षिय पुरुषको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । त्यस्तै कनकाई नगरपालिका ३ की उपे्रती थरकी ८६ वर्षिया बृद्धाको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ । त्यसैगरी सोही मेची अस्पतालमा इलामका निरौला थरका ५५ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिका ५ मा कोरोनाको लक्षण भएका एक पुरुषको आज बिहान मृत्यु भएको छ । श्वासप्रश्वास , ज्वरो लगायतका समस्या भएका राजवंशी समुदायका ५२ वर्षिय पुरुषको बिहान साढे ३ बजे घरमै मृत्यु भएको हो । उनको पिसिआर परीक्षण गरिएको थिएन । कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंकामा गाउँपालिकाले अन्त्येष्टिका लागि नेपाली सेनालाई बोलाएको थियो । तर ,पिसिआर रिपोर्टबाट संक्रमण पुष्टि भइनसकेकाले आफूहरुले अन्त्येष्टि गर्न नमिल्ने चारआलीस्थित नयाँ श्रीनाथ गणले जनाएको छ । स्वास्थ्य सुरक्षाका सावधानी अपनाउँदै घर परिवारले नै अन्त्येष्टि गरेको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए ।

यसैगरी गौरादह ७ निवासी नेपाली कांग्रेसका पूर्व नगर सभापति कृष्णहरि थपलियाको पनि कोरोना संक्रमणवाट मृत्यु भएको छ ।
थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे मृत्यु भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साताअघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पताल गएको र त्यहाँ उपचारका क्रममा संक्रमण समेत पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्