बिर्तामोड , जेठ ४ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले झापाको बिर्तामोडस्थित बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयको विरोध गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिने कुरा बेठीक रहेको भन्दै आलोचना गरेका हुन् । वैशाख ३१ गते सम्पन्न विश्वविद्यालयको ६२५ औं बैठकले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थियो । त्यसैलाई लिएर केसीले आपत्ति जनाएका हुन्। विज्ञ टोलीले निरीक्षण गरिसकेपछि प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय विश्वविद्यालयको ८९ औं बैठकले गरेको थियो। त्यही अनुसार कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई केयूले चिठी लेखेको थियो।

तर डा. केसीले विज्ञप्ति निकालेर विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्र बाहिर गई निर्णय गरेको आरोप लगाएका छन्। उनले केयूका पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा चलाएर पदमुक्त गर्न पनि भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेशमा त्यस्तो निर्णय भएको उनले दाबी गरेका छन् ।‘प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको प्रस्टै छ’, उनले भनेका छन्, ’विज्ञहरु सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आपराधिक चरित्रका नेताहरुको इशारामा हुने यस्तो कुनै पनि निर्णय हाम्रा लागि स्वीकार्य छैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्