झापा, जेठ ५ । भद्रपुरका तीन र अर्जुनधाराका दुईसहित झापाका आज सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् ।
सदरमुकाम भद्रपुरमा एकैदिन तीन जना संक्रमितको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुर नगरपालिका १ निवासी ८४ वर्षीय क्षेत्री थरका वृद्धको मृत्यु भएको छ । वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि मेची अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचाररत वृद्धको उपचार केन्द्रमै मृत्यु भएको हो ।
त्यस्तै भद्रपुर नगरपालिका २ बस्ने ३८ वर्षीय सिंह थरका संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १ गते कोरोना पुष्टि भएको उनको उपचारको क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए । भद्रपुर नगरपालिका ६ निवासी ५८ वर्षीय संक्रमित पुरुषको पनि मेची कोभिड उपचार केन्द्रमा बुधवार बिहान मृत्यु भएको छ । वैशाख २४ गते कोरोना पुष्टि भएका कर्ण थरका ती पुरुष केही दिन होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । भद्रपुरमा नयाँ भेरियन्टको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै अर्जुनधाराका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ९ र १० का एक महिला र एक पुरुष छन् । अर्जुनधारा वडा नं १० का ६६ वर्षिय बृद्धको मनमोहन हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । त्यस्तै गएराति अर्जुनधारा ९ की एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शिवाकोटी थरकी ५५ वर्षिया महिलाको धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मृत्यु भएको हो । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट अर्जुनधारामा मृत्यु हुनेको सँख्या ८ पुगेको छ ।
त्यसैगरी आज फेरि बिर्तामोड ४ का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ९२ वर्षिया बृद्धाको बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । हिजो पनि बिर्तामोड ४ कै एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै बिर्तामोडमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ । त्यस्तै दमक ५ का पूर्व वडाध्यक्ष तथा सामाजिक ब्यक्तित्व मोती इङ्नामको कोरोना संक्रमणबाट निधन भएको छ । गोर्खाली टोल निवासी उनको आज विहान ३ बजे उपचारको क्रममा विराटनगरको नोवल शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ५ झापाका सदस्य तथा किरात भवनका सचिव थिए ।
सामाजिक रुपमा अत्यन्तै मृदुभाषी व्यक्ति लिम्बुको एक साताअघि श्वासप्रश्वासमा समस्या भएपछि बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचार भईरहेको थियो । तर ,त्यहाँ उनको उपचारमा कुनै सुधार नआएपछि बिर्तासिटीबाट रेफर गरेर थप उपचारको लागि हिजो नोवल अस्पताल पु¥याईएको थियो ।
उनको आज दिउँसो नै कन्काईमा अन्तिम दाहसंस्कार गरिएको दमक वडा न.५ का वडाअध्यक्ष इन्द्र गुरुङले बताएका छन् । हिजो पनि झापामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको थियो ।
यसैबीच बिर्तामोडको बिएण्डसी हस्पिटलमा धरानकी एक महिला संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ की राई थरकी ५६ वर्षिया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।