सुरेश आले ‘सर्जु’,
विराटपोखर । देश,गाउँ, शहरमा राजनीति गर्नेको संख्यामा कमी छैन । तर, देशको राजनीतिलाई कत्ति पनि चासो नलिई दत्तचित भएर कृषिकर्ममा लागेका छन् बिर्तामोड ९ का कृषक बृहस्पति सेडाई । अरुले राजनैतिक गफ चुटिरहेका बेला उनी बारीमा सागसब्जीसंग व्यस्त हुन्छन् । चाहे बाह्रमासे फर्सीको गट्टा होस् ,चाहे बेमौसमी रायोको साग होस् ,चाहे घिरौला, भिन्डी अथवा कुनै पनि तरकारी बजारमा उनले लगेर बिक्री गरेका हुन्छन् । यिनै कृषक बृहस्पति आज सब्जी पसलेको रुपमा चर्चामा छन् ।

झन्डै पाँच वर्ष अगाडी उनले आफ्नै करेसाबारीबाट तरकारी खेती शुरु गरेका थिए । त्यति नै बेला उनलाई यो सोच आयो कि अब तरकारी उत्पादन गरेर बजारमा लगेर बिक्री गर्छु । तर,सोचलाई ब्यबहारमा बदल्न अनेक बाध्यता थियो । चर्चा बटुल्न मात्र यो सबै काम नगरी व्यावसायिक बनेर घर खर्च चलाउनेसम्मको आँट गरेर उनले तरकारी खेतीको व्यवसाय शुरु गरे । किनकि त्यो बेला समयको माग पनि त्यही थियो ।
त्यसपछिका दुई वर्ष ठिकठिकै रुपमा यो क्रम चलिरह्यो । पछि विस्तृत रुपमा खेतीबारे बुझ्दै गएपछि उनले तरकारी खेतीकै लागि आफूसंग भएको ३ कठ्ठा जमिनमा मात्र सीमित नराखी छिमेकीको १० कठ्ठा जमिनलाई पनि भाडामा लिएर तरकारी उत्पादन शुरु गरे । त्यसपछि उनलाई तरकारी उत्पादनमा थप हौसला मिल्यो ।

तीन वर्षपछि उनले बार्षिक एक–डेढ लाखको आम्दानी गर्न थाले । बिहान आफ्ना तरकारी सब्जी पसलेको लागि पुर्याईदिनु, दिउँसो बारीमा काम गर्नु, कुन समयमा कुन तरकारी लगाउने अन्दाज गर्नु ,झारपात, सिंचाई मलजल, दबाईपानी गर्दै तरकारी खेतीमै उनको दिन बित्छ । अरुले जतिखेर जे तरकारी उत्पादन गर्छन् ,उनले पनि त्यो तरकारी फलाएका हुन्छन् । चाहे खासै कमाई नहोस् उनलाई पर्वाह छैन ।

त्यसो त मौसमी तरकारी उत्पादन गर्न खासै संघर्ष गर्नु नपरे पनि बेमौसमी तरकारीको लागि निकै संघर्ष गर्नुपरेको उनले बताए । ३ वटा टनेल मार्फत ९० प्रतिशत बेमौसमी तरकारी खेती उनी निकाल्न तल्लिन छन् । ‘यदि प्रकृतिले साथ दियो भने आफ्नो उत्पादनले शतप्रतिशत नाफा दिन्छ’ उनी भन्छन् ।
बृहस्पति जति मेहनती छन् ,साथीभाइसंग पनि उत्तिकै मिजासिला छन् ।उनलाई बिर्तामोड नगरपालिकाले अगुवा कृषकको श्रेय दिएको छ ।नगरमा समन्वय गरेर उनी नगरमार्फत राम्रो सल्लाह लिन्छन् । अहिले उनीहरुको कृषक समुह पनि छ । तरकारी बेच्नैको लागि मात्र नभएर अर्गानिक तरकारी खेतीे सुरुवात गर्न चाहन्छन् उनी । आफैले ड्रममा अर्गानिक बिषादी बनाएका छन् । अर्गानिक बिषादी, गड्यौले मल आदिको बारेमा आफूलाई ज्ञान भएको उनी बताउँछन् ।
पाँच वर्षको तरकारी खेतीबाट उनले आत्मसन्तुष्टि प्राप्त गरेका छन् । ंमेहनत र परिश्रमले आज उनलाई सफल कृषक देख्न चाहनेहरुको भीडमा उभ्याईदिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्