झापा, जेठ ६ । कचनकवलका दुईसहित झापामा आज चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला र तीन पुरुष रहेका छन् ।

कचनकवल १ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको आज साँझ मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई हिजो संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।त्यस्तै कचनकवल ४ का मुस्लिम समुदायका ४४ वर्षिय पुरुषको आज बिहान घरमै मृत्यु भएको छ । उनलाई हिजो बिएण्डसी हस्पिटलबाट घर ल्याइएको थियो । केही दिन मेची अस्पतालमा राखेर उनलाई बिएण्डसी हस्पिटल रेफर गरिएको थियो । आइसियूमा उपचाररत ती संक्रमितलाई अझै केही दिन राख्न चिकित्सकले सुझाव दिएपनि परिवारले घर ल्याएको बताइएको छ । योसँगै कचनकवलका नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ३ पुगेको स्वास्थ्य शाखाका जागेश्वर यादवले बताए । त्यस्तै हल्दिबारी गाउँपालिकामा पहिलो पटक नयाँ भेरियन्टबाट कोरोना संक्रमितको मृत्यु भएको छ । हल्दिबारी ४ का ७१ वर्षिय बृद्धको आज दिउँसो १.४५ बजे उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको हो । उनलाई हिजो गरिएको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएलगत्तै अस्पताल भर्ना गरिएको स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । त्यस्तै दमक ३ का ६६ वर्षिय बृद्धको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको छ । गत बैशाख ३१ गते कोटिहोम ल्याबमा परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा नयाा भेरियन्टबाट ६ महिला र ६ पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै हेलिकप्टर एयर वेड सिफ्ट गरी बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका लागि आएकी दाङ जिल्लाकी एक महिला संक्रमितको मृत्यु भएको छ ।उपचारका क्रममा दाङकी ३२ वर्षिया सुशिला योगीको उपचारका क्रममा गएराति १०.५० बजे मृत्यु भएको हो । यसअघि हिजो बिएण्डसी हस्पिटलमा धरान उपमहानगरपालिका ८ की राई थरकी ५६ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्