झापा , जेठ ७ । अस्पतालहरुले उपचार नगरिदिँदा मेचीनगर–१३ चारआली तेलीबारीकी एक बालिकाको मृत्यु भएको छ ।

अस्पताल चाहार्दा चाहार्दै बालबाटिका स्कुल चारआलीमा कक्षा –४ मा अध्ययनरत ११ वर्षिया जेनिसा राजवंशीको गएराति मृत्यु भएको हो । ती बालिकालाई हिजो बिहान झाडापखाला भएको थियो । त्यसपछि उनी खाना खाएर सुतेकी थिइन् । दिउँसो ४ बजेतिर फेरि झाडाबान्ता भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पताल चाहार्दाचाहार्दै मृत्यु भएको वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

शुरुमा चारआलीस्थित मनकामना हस्पिटलमा लगिएको थियो । त्यहाँ विरामीलाई आइसियूमा राख्नुपर्छ भन्दै चिकित्सकले अन्यत्र पठाए ।विरामीलाई लैजान उनीहरुले एम्बुलेन्ससमेत पाएनन् । अन्तत अटोमा चढाएर विरामी लिएर गए । बिर्तामोडको बिर्तासिटी , कंचनजंघा र अन्जली हस्पिटलमा ती बालिकालाई लगियो । तर , कसैले पनि उपचार नगरिदिएको वडाध्यक्ष सिग्देलले बताए ।‘अस्पतालमा डाक्टर छैन अन्यत्र लानु भन्दै नर्सले फर्काइदिएको बालिकाका आफन्तको भनाईलाई उद्धृत गरी वडाध्यक्ष सिग्देलले सुनाए । विरामीको अबस्था चिन्ताजनक रहेकाले गर्दा अस्पतालहरुले भर्ना गर्न नमानेको सँगै गएका एकजनाले बताए ।मृतक बालिकाका बुबा रघुनाथ राजवंशी नुवाकोटमा नेपाली सेनामा कार्यरत छन् । छोरीको निधनपछि उनी घर फर्किदै गरेको सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्