बिर्तामोड, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको अक्सिजन बैंक स्थापनाप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धतासहित आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘कोरोना महामारीः अक्सिजन बैंकको स्थापना, व्यवस्थापन र एकका लागि एक अभियानको तयारी’ विषयमा शनिबार झापाका राजनीतिक दलहरुबीच भएको संवादमा दलका नेताहरुले ऐक्यबद्धतासहित सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
संवाद समूह झापाको संयोजनमा भएको छलफलमा संविधानसभाका सदस्य तथा विभिन्न पार्टीका प्रमुखहरुले अक्सिजन बैंक स्थापनासंगै अक्सिजन प्लाण्ट र कोरोनाविरुद्धको भ्याक्सिनका लागि पहल थाल्न एकका लागि एक अभियानसंगै निजी क्षेत्रलाई सुझाव दिएका छन् ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले हालसम्म गरेका काम र आगामी योजनाबारे दलहरुलाई जानकारी गराएका थिए । उनले अभियानलाई सहयोग गरेर महामारीबाट सबैलाई बचाउने कार्यमा सबै क्षेत्रबाट योगदान गर्न आग्रह गरे ।
संविधानसभाका सदस्यहरु सुधिरकुमार शिवाकोटी, दीपक कार्कीसहित दलका प्रमुखहरुले एकका लागि एक अभियानबाट भइरहेको कामको प्रशंसा गर्दै नागरिकको जीवन रक्षाका लागि अभियानबाट भइरहेको पहल अनुकरणीय भएको बताए ।
नागरिकको जीवन बाँच्न र बचाउनका लागि आवश्यकताको आधारमा अघि बढ्न अभियानकर्मीलाई दलहरुले सुझाएका छन् ।

संविधानसभाका सदस्य कार्की र नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले अभियानको काममा सरकारले सघाउने बताउँदै भने–‘अभियानलाई अघि बढाउनुहोस्, सरकार साथमा छ ।’ सरकार र नागरिकलाई अभियानको यो कामबाट ठूलो सहयोग पुगेको उनीहरुको भनाइ छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले अक्सिजन बैंकसंगै आजैबाट अक्सिजन प्लाण्टका लागि लाग्न र भ्याक्सिन ल्याउने पहल गर्न सुझाए ।
कांग्रेस नेता देउमान थेबे, नेकपा माओवादी केन्द्रका संयोजक मणिकुमार साम्पाङ विजय, जनता समाजवादी पार्टीका अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशवप्रसाद ओझाले महामारीका बेला नागरिकको स्वास्थ्य प्रमुख विषय भएकाले अभियानलाई आफ्नो पार्टी जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत, अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष नबीन पोखरेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, अभियानका सदस्य सजेश शिवाकोटीले अभियानको कामबारे दलहरुलाई प्रष्ट्याउँदै मानवीय सेवा र सामाजिक कार्यमा निस्वार्थरुपमा लागिरहेको बताए । छलफलको सहजीकरण संवाद समूहको तर्फबाट अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्