झापा , जेठ ९ । झापाका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारैजना पुरुष रहेका छन् । कनकाई , कमल , अर्जुनधारा र भद्रपुरका एक–एकजनाको मृत्यु भएको हो । कनकाई नगरपालिका वडा नं ३ का करिब ४० वर्षिय पुरुष संक्रमितको उपचारको अभावमा ज्यान गएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेका ती संक्रमितको स्वास्थ्य अबस्था गंभीर भएपछि हिजो बेलुका उपचारका लागि धरानको वीपी कोभिड हस्पिटल लगिएको थियो । त्यहाँ बेड खाली नभएको भन्दै फर्काइदिएपछि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले जानकारी दिए ।योसँगै कनकाई नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।

त्यस्तै अर्जुनधारा ११ का ५२ वर्षिय लिम्बू थरका पुरुषको धरानमा गएराति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।अर्जुनधारामा दोस्रो लहरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ६ का ७३ वर्षिय बृद्धको दमकको लाइफलाइन अस्पतालमा गएराति ११ बजे मृत्यु भएको छ । सोही अस्पतालमा एन्टीजेन टेष्टमा पोजिटिभ देखिएको र उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए ।

त्यस्तै भद्रपुर वडा नं २ का ५२ वर्षिय पुरुषको आज बिहान मेची अस्पतालमा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै भद्रपुरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्