इलाम, जेठ ९ । कोरोना महामारीका कारण लगाइएको लकडाउनले गर्दा यतिबेला देश ठप्प छ । तर, इलामको हाँसपोखरीबाट झण्डिडाँडा हुँदै सलकपुर जोड्ने मेची पदमार्ग निर्माण कार्य जारी छ ।

एक बर्षभित्रमा नेपालकै चर्चित पदमार्गको रुपमा स्थापित गर्नेगरी आगामी कातिक महिनामा निर्माण सम्पन्न गर्ने त्यस योजनालाई लकडाउनले असर गरेको छैन । प्रधानमन्त्री रोजगार निर्माण कार्यक्रम अन्तर्गत दैनिक ५०–६० जनाले लगातार बाटो निर्माणमा श्रम गरिरहेको रोङ गाउँपालिका वडा न ६ वडाध्यक्ष मणिकुमार स्याङ्गबो ( सुबास)ले बताए । विगत एक महिनादेखि बाटो निर्माणको काम थालिएको हो ।

साइक्लिङका लागि अत्यन्तै राम्रो रहेको सो मार्गको लम्बाई १६ किलोमिटर रहेको छ । जुन सडक ३०० देखि १८३० मिटरको उचाईमा रहेको छ । प्रवल पर्यटकीय संभावना रहेको सो सडकको इरौटार र तारगाउँ रम्भ्याङ्गको डाँडा (तिरैतिर )दुबैतर्फ मनोरम दृश्य रहेको वडाध्यक्ष स्याङ्गबोले बताए । उनले सडकको छेउमा १५ हजार वटा लालीगुराँसको बिरुवा रोपिसकेको बताउँदै यस बर्ष ३० हजार रोप्ने तयारी रहेको जानकारी दिए । जुन लालीगुराँसको बगैचा झापाको लागि सबैभन्दा नजिक हुनेछ । झापाका सम्पूर्ण बिद्यालयका बिद्यार्थीहरुका लागि वनस्पति अध्ययन अवलोकनको उपयुुक्त गन्तव्य बन्न सक्ने बिश्वास गरिएको छ ।

सो जंगलको भूगोलमा फलफुलका बिरुवा लगाउने योजना रहेको छ । फलफुलका बिरुवाबाट उचाई अनुसारको सहज उत्पादन लिन सकिने भन्दै वडाध्यक्ष स्याङ्गबोले पदयात्रामा आउने पर्यटकले खाँदै हिड्न सक्ने जानकारी दिए ।त्यस्तै उचाई अनुसारको जडिबुटी बिरुवाको रोपण गर्ने , कृषि उत्पादन बिक्री वितरणसहित होमस्टे प्रबद्र्धन गर्ने , आन्तरिक पर्यटकका लागि वातावरण बनाउने ,सूर्योदय र सूर्यास्त दृश्यावलोकनको व्यवस्था गर्ने, संस्कृति,परम्परा अनुसारका मझुवा,जौबारी ,रम्भ्याङ्ग र सलकपुरमा होमस्टे पोइन्ट बनाउने, होमस्टे ब्यवसाय र पर्यटकीय गतिबिधि हुने सबै स्थानका बासिन्दाले अनिवार्य फुल बगैचा बनाउनु पर्ने, झण्डिडाँडामा खानेपानी ,शौचालय आदि निर्माण गर्नेलगायतका योजना रहेको वडाध्यक्ष वडाध्यक्ष स्याङ्गबोले जानकारी दिए । गुरुयोजना निर्माण गरी पदमार्गको काम शुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्