बिर्तामोड , जेठ ९ । छोराको शोकले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङकी आमाको निधन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङकी ९० वर्षिया आमा चन्द्रमायाको आज दिउँसो घरमै निधन भएको हो । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ४ माम्लिङमा रहेको घरमा दिउँसो २.३० बजे चन्द्रमायाको निधन भएको आफन्त शशिकला राईले जानकारी दिइन् । कोरोना भाइरसबाट संक्रमित प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको जेठ ३ गते उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा निधन भएको थियो ।

छोराको निधन भएको खबर सुन्नेबित्तिकै चन्द्रमाया बेहोस भएकी थिइन् । सोही दिनदेखि वाक्य बसेको र होस नखुली आज निधन भएको मेचीनगर नगरपालिकामा कार्यरत शशिकलाले बताईन् । उनका अनुसार दिवंगत भएका प्रशासकीय अधिकृत खाम्याहाङले आफ्नी आमालाई निकै माया गर्थे । श्रीमान नभएकी चन्द्रमायाका ६ जना छोरामध्ये प्रशासकीय अधिकृत खाम्याहाङ साइला छोरा थिए । माइला र काइला छोराको पनि निधन भइसकेको थियो । त्यस्तै तीन छोरीमध्ये माइली छोरीको पनि निधन भइसकेको थियो । कान्छा छोरा काठमाडौंबाट फर्किएपछि चन्द्रमायाको भोलि दाहसंस्कार गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्