झापा , जेठ १० । पछिल्लो २४ घण्टामा झापाका चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मेचीनगरका दुई तथा बिर्तामोड र भद्रपुरका एक–एक जना रहेका छन् । बिर्तामोड ८ का ८५ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा रहेका उनको हिजो बेलुका मृत्यु भएको नगरपालिकाका कोभिड पर्सन ओम खड्काले बताए । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।त्यस्तै मेची अस्पतालमा दुईजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं २ का ७७ वर्षिय पुरुषको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको सूचना अधिकारी मनोज पोखरेलले बताए । तर , उनको पिसिआर रिपोर्ट जेठ ७ गते नेगेटिभ आइसकेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । त्यस्तै मेचीमा फिदिम ३ बस्ने ३१ वर्षिया महिलाको पनि मृत्यु भएको छ । फिदिममा अस्थायी ठेगाना भएपनि उनको माइत र स्थायी ठेगाना मेचीनगर ११ भएको चौलागाईले जानकारी दिए । त्यस्तै मेचीनगर–१४ स्थित कलमवारीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालका अनुसार ४२ वर्षीय उनको आज बिहान १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो र खोकीले सताएपछि ७ दिनअघि उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । सोहि अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै भद्रपुर ४ का एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५१ वर्षिय पराजुली थरका व्यक्तिको हिजो बेलुका विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २११ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्