आजभोलि खुब चर्चामा छ ‘युवा’भन्ने शब्द । जताततै सुन्न पाइन्छ युवाले हो देश बनाउने, अब यी नेताहरुको दिन गए, देशलाई निकास दिने हो भने युवाले नेतृत्व गर्नुपर्छ । हो यस्तै यस्तै आवाज अनि नाराहरु आजभोलि प्रशस्त सुन्न पाइन्छ, देख्न पाइन्छ ।यो देश बिगारेको कोही नेताले होइन । यो देश बिगारेको त तपाईँ, हामी जस्ता युवाले नै हो ।
हो देशलाई आज युवा नेतृत्वको आवश्यकता छ । र, यो पनि सत्य नै हो कि देशलाई निकास दिने हो भने युवाको विकल्प छैन । तर, के कसैले आँकलन गरेको छ कि देशमा युवाको अवस्था के छ भनेर ? देशको युवा जनसंख्या कुन अवस्थामा छ, के गर्दैछन्, र कता छन् भन्ने कुराको यकिन रेकर्ड कोसँग छ ?
याद राख्नुस् कुनै पार्टीको झोला बोकेर मात्रै देश बनाउने युवा जन्मिदैन । पार्टीको झोला बोकेर, त्यही पार्टीको टाउकेको इसारामा चल्ने युवा नै तपाई हामीले खोजेको युवा हो भने यो देश कहिल्यै बन्दैन, बरु पतनको मार्गतर्फ लाग्छ ।
विकसित विदेशी मुलुकलाई हेरेर पनि सिक्न सकिन्छ नि ! सँधै भोगेर मात्रै सिक्ने होइन, देखेर पनि सिक्न सकियो भने मात्रै अघि बढ्न सकिन्छ । ३५ देखि ४५ वर्ष उमेर समूह भएका व्यक्तिहरु प्रधानमन्त्री पद चलाइरहेका छन् । हो त्यस्तै हुनु पर्यो नि त ! यदि युवाले नै देश बनाउने हो भनेर लाग्ने हो भने त । तर यहाँ त ५० वर्षको बुढो विद्यार्थी संगठनको नेता भएर पो हिँडिरहेको हुन्छ । अनि ७० वर्षको बृद्धले युवा नेता भन्दै प्रधानमन्त्री पद हाँकिरहेको हुन्छ ।
देशको अधिकांश युवा जनशक्ति कुलत, लागूऔषधमा लिप्त र बेरोजगारीको चरम बिन्दुमा छन् । अनि यस्तो अवस्थामा भएका युवालाई चाँहि देशको तालाचाबी दियो भने के हुन्छ ? यस्ता कुराहरुलाई पहिला सचेत र अग्रपंक्तिमा रहेका मानिसले निर्मुल पार्नसके मात्रै साँच्चै नै देश बदल्ने युवा पाउन सकिन्छ ।

विभिन्न राजनीतिक दल, पार्टीहरुमा रही देशको नीति र कानून बनाउने ओहोदामा पुगेका युवाहरुले सामान्य मानिसको लागि उपयुक्त नीति र कानून बनाउन सक्नु पर्छ । प्रभावशाली कार्यक्रम ल्याउन सक्नु पर्छ ।युवाले देश बनाउने हो पनि भन्ने अनि फेरि त्यहि बुढो नेताको इसारामा पनि चल्ने प्रवृत्तिले त कहिल्यै पनि सम्भव छैन परिवर्तन ।
पहिलो कुरा त यदि देशको नेतृत्व लिने नै हो भने सर्वप्रथम संगठित हुन जरुरी छ । जुन हामीमा छ्रैन । हो हामीमा संगठित हुने प्रवृत्ति नै छैन । यहाँ त प्रतिष्पर्धा पो हुन्छ, प्रतिशोध पो हुन्छ । कोहीले एउटा राम्रो भिजन र योजना निकाल्यो भने ए ! अब त यो पो अघि बढ्ने भयो भनेर उसैको साथीले खुट्टा तान्न थाल्छ । यहाँ हाम्रो मुल समस्या नै यही हो । उसले एउटा केही सुरु ग¥यो भने अर्कोले कि त त्यसलाई सिद्ध्याउनतर्फ लाग्छ कि त प्रतिष्पर्धा गर्नतर्फ लाग्छ । हातमा हात र साथमा साथ मिलाएर काम गर्न जबसम्म सकिदैन तबसम्म हामीलाई परिवर्तनले छुँदैन।

राजनीतिक चेत र ज्ञानले मात्रै देश बनाउने होइन रहेछ, देश बनाउने युवामा भौगोलिक, सामाजिक, बैज्ञानिक, नैतिक सम्पूर्ण ज्ञान हुन जरुरी छ । अनि संगठित हुने बानीको विकास गर्न जरुरी छ । एक्लो पातले मात्रै कुनै छायाँ दिन सक्दैन, समूहमा नै शक्ति लुकेको हुन्छ । त्यसैले संगठित हुन एकदमै जरुरी छ । एक थुकी सुकी, सँयौ थुकी नदी भन्ने पनि सुनेकै छौँ । एक्लो प्रयासले परिवर्तन असम्भव हुन्छ तर सहकार्य र सद्भावले परिवर्तन सम्भव छ ।
विभिन्न देशका विभिन्न कालखण्डलाई अध्ययन गर्ने हो भने देश बनाउने एकजना सपुत रहेको हुन्छ । हो त्यही एकजनाले नै देशको अवस्थालाई परिवर्तन गरेको हुन्छ । किनकी उसले आफूजस्ता अरुलाई एकै ठाउँमा संगठित गरेर अघि बढेको हुन्छ । नियत एकदम सफा र सिधा हुन्छ । ऊ पारदर्शीमा अडेको हुन्छ । त्यसैले ऊ परिवर्तन ल्याउन सफल हुन्छ ।सम्भावनाको खेती गरेर विकास फलाउँछ । उसले आफू र आफूसँग रहेकामा विकास र परिवर्तन सम्भव छ भन्ने आशा जगाएको हुन्छ र सबै संगठित भएर त्यही आशामा अडेर लागिपरेका हुन्छन् । त्यसरी लामो संघर्षपछि मात्रै नतिजा प्राप्त गरेका हुन्छन् ।

त्यसैले परिवर्तन आजको भोलि आउने चिज होइन । यो त लामो संघर्ष र महान् बलिदानहरुबाट उत्पन्न हुने सुन्दर बिहानी हो । स्वार्थको खेतीमा परिवर्तन कहिल्यै उम्रिदैन । विकास र संघर्ष एउटै सिक्काका दुई पाटा हुन् । आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर समाजसेवा र राष्ट्र निर्माण गर्ने प्रण जबसम्म कसैले गर्दैन तबसम्म जति नै आदर्शका कुरा गरेपनि परिवर्तन आउँदैन, देश बन्दैन । आदर्शका कुरा त हाम्रा अहिलेका नेतालाई जति कसलाई आउँछ । सुनको थालमा भात खुवाउने सपना देखाउन सक्ने नेताले जति आदर्शवाणी अरु कसैले फलाक्न सक्छ त ? तर कुराले मात्रै देश बन्ने भए त आज नेपालभन्दा विकसित र सुशासित देश खोज्न अर्कै ग्रहमा जानु पर्थ्यो होला नि त ।

महान् राजनीतिक व्यक्ति तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (बिपी) ले भनेका थिए कि युवा र तरुण दुबै फरक हुन्छन् । युवा त्यो हो जोसँग उमेर र जवानीको तागत छ तर सामाजिक, नैतिक ज्ञान अनि शिक्षा छैन । हो त्यही युवालाई शिक्षित बनाएर सम्पूर्ण ज्ञानले पूर्ण बनाउन सकियो भने मात्रै उ तरुण ठहरिन्छ र देश विकासमा लाग्न सक्छ । हो युवामा भरिएको जोशलाई सही ढंगमा परिचालन गरेर शिक्षा प्रदान गर्न सकियो भने मात्रै त्यो तरुण भएर निस्किन्छ अनि देश विकास गर्छ । अन्यथा यही चालाले मात्रै युवाले देश विकास गर्छन् भन्दै बस्नु भनेको आकाशको फल आँखातरि मर भनेझैँ हुनेछ ।
त्यसैले अब सम्पूर्ण सचेत युवाहरुले पार्टीको झोलामात्रै बोक्ने काम नगरेर आफ्नो पार्टीभित्र भएका कुसंगति र कुरीतिलाई पन्छाउँदै अघि बढ्न सक्नु पर्छ । अन्याय र न्याय छुट्याउन सक्ने हुनुपर्छ । न्यायको पक्ष र अन्यायको विरुद्धमा लड्न सक्नुपर्छ । चाहे त्यो आफ्नाको होस् या पराईको सबैलाइै समान व्यवहार गर्न सक्नुपर्छ । समानताको भाषण गरेका हाम्रा नेताहरुले भाषणमै मात्रै सीमित राखेझैँ अबको युवाले गर्नुहुन्न ।
संगठित भएर पार्टीभन्दा पहिला देश सोचेर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठित भएर देश विकासमा लाग्नसके चाँहि परिवर्तन र विकास सम्भव छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्