हल्दिबारी, जेठ १२ । झापा जिल्लाकै पुरानो बजार पारुखुपीको इतिहासलाई प्रतिनिधित्व हुनेगरी स्तम्भ निर्माण गरिने भएको छ ।

राजवंशी भाषामा पारु अर्थात परेवा र खुपी अर्थात खोर भन्ने बुझिन्छ । परेवाको खोर रहेकै कारण पारुखुपी नामाकरण भएको यस ठाउँको इतिहासलाई जोगाउन परेवा अंकित स्तम्भ निर्माण गर्न लागिएको हो । यस ठाउँमा रहेको दुर्गा मन्दिरको डाँडामा पहिले परेवाहरु गुड लगाएर बस्थे । त्यसकारण तत्कालिन जमिन्दारहरु मुत्तु गणेश, खलाकुटु राजवंशीसहितका ब्यक्तिहरुले यस ठाउँको नाम पारुखुपी राखेको भनाइ सुन्न सकिन्छ ।
हल्दिबारी गाउँपालिका वडा न. २ को पारुखुपी बजार चोकमा पारुखुपीको ईतिहासलाई लोप हुन नदिन परेवा अंकित स्तम्भको आज शिलान्यास गरिएको हो । उपभोक्ता समितिको उपस्थितिमा संविधानसभा सदस्य तथा प्रदेश सांसद पुर्णप्रसाद राजवंशी र संविधानसभा सदस्य मोहन टुडुले संयुक्त रुपमा शिलान्यास गरे । हल्दिवारी २ नं वडा कार्यालयको आर्थिक वर्ष ०७७–०७८ को विनियोजित ४ लाख बजेटबाट सो स्तम्भ निर्माण गरिने कार्यपालिका सदस्य खगेन राजवंशीले जानकारी दिए ।