झापा, जेठ १२ । पछिल्लो चौबीस घण्टामा बिर्तामोड र भद्रपुरका तीन–तीनसहित झापाका आठजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने बिर्तामोडका वडा नं ३ की ८४ वर्षिया बृद्धा, वडा नं ७ का ६० वर्षिय बृद्ध र वडा नं १० का ४६ वर्षिय पुरुष रहेका छन् । बिर्तामोड ३ की संग्रौला थरकी बृद्धाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलवार बेलुका मृत्यु भएको हो भने वडा नं ७ मुर्मू थरका बृद्धको मेची अस्पतालमा मृत्यु भएको छ । त्यस्तै बिर्तामोड १० ठेगाना भएका एकजना औषधी व्यवसायीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साथी मेडिको एण्ड साथी डाइग्नोष्टिक सेन्टरका संचालक प्रकाशचन्द्र उपे्रतीको कोरोना संक्रमणबाट बिर्तासिटी हस्पिटलमा बुधवार अपरान्ह १२.४० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी बमबहादुर बस्नेतले बताए । उपे्रती विगत १० दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।
त्यस्तै मेची अस्पतालमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गरामनी स्वास्थ्य चौकीका पूर्व अहेव भद्रपुर ९ का ६५ वर्षिय कृष्णप्रसाद भट्टराईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै मेची अस्पतालमा भद्रपुर ३ का ६५ वर्षिय श्रेष्ठ थरका बृद्धको मंगलवार बेलुका मृत्यु भएको छ भने बुधवार साँझ भद्रपुर ८ का श्रेष्ठ थरकै ९० वर्षिया बृद्धाको मेची अस्पतालमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए ।योसँगै भद्रपुरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १५ पुगेको छ ।
त्यस्तै गौरादह २ का ५० वर्षिय गौतम थरका पुरुषको दमकको एडभान्स हस्पिटलमा मृत्यु भएको छ भने गौरीगञ्ज ३ का घर भएका पूर्व वडाध्यक्ष ५० वर्षिय रुपनप्रसाद दासको उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको छ । बुधवार बिहान उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याई पु¥याउन साथ उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बस्नेतले जानकारी दिए ।