झापा ,जेठ १३ । बाह्रदशी १ मा जेठ महिनाभित्र कोरोनाको जस्तो लक्षण भएका रोगबाट सात जनाको मृत्यु भएको छ । कोरोना महामारीका बेला बिरामी पर्दा समेत मृत्यु भएका ती कसैले पनि परीक्षण नै गराएनन् । अझै टोल– टोलमा त्यस्ता विरामी निकै छन् । तर, कोही पनि कोरोनाको परीक्षण गराउन अगाडि सर्दैनन् ।
बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले आफ्नो वडामा लगातार वडाबासीहरुको मृत्यु भइरहेको जानकारी दिए । उनले परीक्षण नगराएका कारण कुन रोगले मृत्यु भयो भन्ने थाहा हुन नसकिरहेको बताए ।‘यो महिनाभित्र ७ जनाको मृत्यु भइसक्यो ’उनले भने ,‘विरामी परेपनि कोरोनाको परीक्षण गराउँदैनन् ।’ चेतना अभाव र डरका कारण ग्रामीण क्षेत्रका बासिन्दाहरुले खासै परीक्षण गराउँदैनन् । ‘परीक्षण गराएको भए मृत्यु भएकाहरुमा पक्कै कोरोना नै देखाउँथ्यो होला ’ वडाध्यक्ष राजवंशीले आशंका गरे ।
मानिसमा लक्षणसहित र लक्षणबिनाको कोरोना संक्रमण पुष्टि हुने गरेको छ । तर, लक्षण भएकाले समेत परीक्षण नगराउने गरेको वडाध्यक्ष राजवंशीले बताए । परीक्षण नगराउँदा संक्रमण भएको जानकारी पाउन नसकिने र रोकथामको प्रयासका लागि पहल पनि गर्न नसकिएको उनले समस्या सुनाए ।
त्यस्तै बुधवार गौरीगञ्ज ३ का घर भएका पूर्व वडाध्यक्ष ५० वर्षिय रुपनप्रसाद दासको कोरोना संक्रमणका कारण मृत्यु भयो । बुधवार बिहान उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याई पु¥याउन साथ उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । अस्पतालमा ल्याएपछि यादवको मृत्यु भएको र एन्टीजेन टेष्टबाट रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले बताए । अन्य रोगबाट समेत पीडित रहेका यादवले कोरोना परीक्षण गराएका थिएनन् । स्वास्थ्य प्रमुख मिश्रले ग्रामीण क्षेत्रका मानिसहरुले पिसिआर परीक्षण गर्न नमानिरहेको बताए । उनले बुधवार ५० वटा किट लिएर गाउँ पसेकोमा मुश्किलले १५ जनाले मात्र परीक्षण गराएको जानकारी दिए । ‘रातभरि खोकिरहेका छन् , कोरोना लागेको होला हामीलाई डर भयो भनेर छिमेकीहरु सुनाउँछन् ’ स्वास्थ्य प्रमुख मिश्रले भने ,‘भोलिपल्ट किट लिएर गयो आशंकितहरुले परीक्षण नै गर्न मान्दैनन् ।’ पिसिआर परीक्षणसँगै कोरोना खोपमा पनि त्यस्तै समस्या रहेको छ ग्रामीण क्षेत्रमा । उनीहरुमा कोरोना खोप लगाएर के हुन्छ भन्ने मानसिकता देखिएको छ । त्यसैले कोरोना संक्रमण र संक्रमणबाट बच्नका लागि खासगरी आदिबासी र मधेसी समुदायमा जनचेतना कार्यक्रमको आबश्यकता देखिएको स्वास्थ्य प्रमुख मिश्रले जोड दिए ।