झापा, जेठ १४ । झापाको मेचीनगर र दमकका दुई– दुई गरी पाँचजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसक्रममा मेचीनगरमा थप दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको हो । मृत्यु हुनेहरू वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए ।वडा नम्बर १० का ३९ वर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।त्यस्तै वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । आज थप दुई संक्रमितको मृत्यु हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेको सँख्या १४ पुगेको छ ।

त्यस्तै दमक नगरपालिका वडा नं १० र ८ का दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । समान ५५ वर्ष उमेर भएका ती दुवैको उपचारका क्रममा कोशी कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको हो । एकजनाको गएराति २.१५ बजे र अर्कीको बिहान ९.३० बजे मृत्यु भएको जनाइएको छ । वडा नं १० की महिलाको जेठ ८ गते र वडा न. ८ की महिलाको बैशाख २७ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ३ की श्रेष्ठ थरका ७६ वर्षिय बृद्धको गएराति बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिए ।योसँगै कमलमा दोस्रो लहरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । झापामा भने हालसम्म कोरोना संक्रमणबाट २२८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्