बिर्तामोड,जेठ १४ । नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील हुन सरकारलाई सचेत गराएको छ ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन सचेत गराएका हुन् ।
कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था गर्न, सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न, कमजोर आर्थिक अवस्थाका अस्पताललाई अक्सिजन प्लान्ट जडानमा अनुदान उपलब्ध गराउन, मेची अञ्चल अस्पतालमा रोकिएको पिसिआर परीक्षण तत्काल सुचारु गर्न, उक्त अस्पतालमा आइसियु बेड, भेन्टिलेटर विस्तार गर्न र न्यून आर्थिक अवस्थाका कोभिड संक्रमितको निःशुल्क उपचारको प्रबन्ध मिलाउन पनि माग गरिएको छ ।

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका, लामो समयको लकडाउनबाट खाद्य संकटमा परेका नागरिकहरुलाई जीवन जिउन पुग्ने राहत उपलब्ध गराउन, ज्यानको बाजी थापेर कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा मनोबल बढाउन सेवा सुविधा विस्तार गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ । कोरोना महामारीबाट जनताले जीवन गुमाइरहँदा समेत सरकारका व्यक्तिहरुबाटै औषधि तथा अत्यावश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै विज्ञप्तिमा यसको निश्पक्ष छानविनका लागि न्यायिक आयोग गठन गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम गरी जनताको जीउधनको सुरक्षा गर्नुपर्ने आफ्नो परम कर्तब्यबाट सरकार च्यूत भएको आरोप लगाउँदै आमजनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सचेत गराइएको हो ।
‘वर्तमान केपी ओली नेतृत्वको असंवैधानिक सरकार हुनै नसक्ने चुनावको नक्कली कुरा गरेर जनतालाई मृत्युको मुखमा धकेलिरहेको छ’–विज्ञप्तिमा भनिएको छ–‘देश र जनताप्रति योभन्दा बेइमानी, धोका र षडयन्त्र अरु के हुनसक्छ ? ओली सरकार राष्ट्र र जनताको बिरुद्ध असंवैधानिक गतिविधि गरिरहेको छ ।’

कोरोना महामारी नियन्त्रणमा दातृ निकाय, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग सामग्रीमा समेत सरकारका मन्त्रीहरुको तस्बिर टाँसेर वितरण गरेको सरकारले चुनावी प्रचारको निकृष्ट शैली अपनाएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारमा बस्नेहरुको यस्तो निर्लज्ज कार्यको निन्दा र भत्र्सना गरिएको छ ।
कोरोना महामारीको यस विपदमा जनताको सेवामा जुट्न सबै तह र तप्काका नेता कार्यकर्तालाई आह्वान गर्दै विज्ञप्तिमा संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन, स्वास्थ्य सामग्री संकलन तथा वितरण, लामो समयको लकडाउनबाट समस्यामा परेका जनतालाई राहत वितरण कार्यमा सहयोग गर्न पनि नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने सबै पेशाकर्मी, उद्योगी, ब्यवसायी, सामाजिक संघसंस्था एवं पार्टी कार्यकर्तामा अपिल गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्