सुरेश आले ‘सर्जु’
बिराटपोखर । लामो समयदेखि कलाकारिता क्षेत्रमा संलग्न भएपनि बिर्तामोड .४ रामाउत टोलका होमनारायण राजवंशीलाई धेरैले नचिन्न सक्छन् । किनकि उनलाई पब्लिसिटी मन पर्दैन ।

२०२६ साल पुष ४ गते पिता पदमलाल र माता बार्नीश्वरी राजवंशीको कोखबाट माईला सुपुत्रको रुपमा जन्मिएका होमनारायण , राजवंशी भाषाको चलचित्र निर्माण निर्देशन गर्न मात्र खप्पिस छैनन्, अभिनयमा पनि अब्बल प्रतिभा हुन् । होमनारायण निर्माता र निर्देशक मात्र होइनन् ,सफल द्वन्द्व कलाकार पनि हुन् । चलचित्रमा उनको द्वन्द्व कलाकारिताको अलग अन्दाज हेर्न पाईन्छ । उनले यो अवधिसम्म आईपुग्दा अनिल संग्रौलाको भिडियो चलचित्र जीवनको परिवेश, परमाणु प्रधानको नजाऊ छोडी यो देश, किशोर सुब्बाको शहिदको आमा, मुकुन्द श्रेष्ठको ठूलो पर्दाको चलचित्र आफ्नो बिरानो, धाराबाहिक टेलिचलचित्र परदेशी, अमृत शर्माको सिउँदो,त्यसैगरी पाण्डव, गुनासो, भारतीय नेपाली कथानक चलचित्र प्रेमपथ, नेपाली कथानक चलचित्र अवरोध, आत्मघाती, तिरस्कार, मिसन नेपाल मेरो साथी, किल्लालगायत ठूलो पर्दाको भारतीय चलचित्र भाग्यर महिमा, थारु भाषाको सजैब सिध सिचौरसे, हमर सपना, हमर दिल चोरल्फे अचरावाली, सुर्जापुरी भाषाको काय आपन काय पर, बंगाली भाषाको सुखेर बासा माया साथै प्रतिशोध, त्यसैगरी सादरी भाषाको के अपने के पराए, भोजपुरी भाषाको बादशाह, भारतीय राजवंशी भाषाको बौही मोर लगायत यहाँको राजवंशी भाषाको चलचित्र बिधुतार लेखा, बचन,सितार सिन्दुर, देवसरी लगायतका विभिन्न चलचित्रहरुमा अभिनय गरेका छन् ।

होमनारायणले चलचित्रमा अभिनय मात्र गरेका छैनन्, चलचित्रमा लगानी पनि गरेका छन् । राजवंशी भाषाको चलचित्र बिधुतार लेखा र सितार सिन्दुरमा उनको संयुक्त लगानी रहेको थियो ।
उनी चलचित्र निर्देशन पनि गर्छन् । राजवंशी भाषाको चलचित्र बिधुतार लेखा र सितार सिन्दुर उनको कथामा उनकै निर्देशनमा बनेको चलचित्र हो । २०४९ साल पुष ९ गते बिर्तामोडमा अनिल संग्रौलाद्वारा निर्देशित भिडियो चलचित्र जीवनको परिबेशको सुटिंग हेर्न घरबाट हिडेका उनलाई त्यस फिल्ममा काम गर्छु जस्तो लागेको थिएन । एक्कासी अनिल संग्रौलाले बोलाएर तिमी हाम्रो फिल्ममा भिलेनको काम गर्छौ भनेपछि उनी चकित बनेको प्रसंग सुनाउँछन् ।त्यसपछि उनले आँट गरेर त्यस फिल्ममा काम गरे । फिल्ममा पहिलो प्रवेश उनको त्यसरी भएको थियो । त्यसपछि आफूले फिल्म लाईनमा पछाडी फर्केर हेर्नु नपरेको उनी बताउँछन् ।

होमनारायणले आईएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।द्वन्द्व निर्देशक एनबी महर्जनलाई आफ्नो प्रेरक व्यक्ति र गुरु ठान्छन् उनी । ‘महर्जनको कुशल प्रेरणालाई कहिल्यै बिर्सन सक्दिनँ’उनी भन्छन् ,‘ यो कुरा अरुलाई भन्न बिर्सनु हुन्न ।’
पारिश्रमिकको कुरो गर्दा यस क्षेत्रबाट उनले खासै कमाई गर्न सकेका रहेनछन् । तर, अहिले चाहिँ धेरथोर कमाई हुन थालेको देखिन्छ ।
होमनारायणको परिवारमा २ छोरी नरमाया र टिनुजासहित श्रीमती निर्मला छन् । उनको जम्मा ४ जनाको परिवार छ । परिवारको साथ सहयोगलाई उनी यस क्षेत्रको सफलताको प्रेरणा मान्छन् ।
पहिलो चलचित्रमा अभिनय गर्न जाने दिन श्रीमती निर्मला साह्रै बिरामी परेको र मन दह्रो पारेर उनले ‘जानु म ठिक हुन्छु ’भनेकी थिइन् । आफूलाई श्रीमतीले त्यस दिन दिएको हौसला उनी कहिल्यै पनि बिर्सन सक्दैनन् ।

अहिले पछिल्लो समय उनी आफ्नै जातीय राजवंशी भाषाको चलचित्र निर्माण निर्देशनतर्फ बढी केन्द्रित छन् । जातीय भाषाको चलचित्रमार्फत समाजमा शिक्षा र सन्देश दिन थालेका छन् । उनले आफ्नै अध्यक्षतामा राजवंशी चलचित्रकर्मी कलाकार संघ गठन गरेका छन् ।संघले राजवंशी भाषी कलाकारहरुलाई प्लेटफर्म दिन थालेको छ । तर, कताकता आफ्नै समुदायबाट कुरा नबुझेर बिरोध आउँदा भने उनी दिक्क मान्छन् । यद्यपि उनले हार मानेका छैनन् । राजवंशी भाषाको पहिलो चलचित्र बिधुतार लेखा बनाउने पनि उनकै टिम थियो ।

उनले अभिनय गरेको चलचित्र बौदि मुरमा र बिधुतार लेखा छोटो समयमा चर्चित बनेको थियो । चलचित्रमा योगदान पुर्याएवापत २०६६ बैशाख १ गते राजवंशी समाज विकास समिति झापा र २०७२ माघ १६ गते राजवंशी समाज विकास समिति,राजवंशी जाग समाज र हुक्काहुक्की बाल क्लबले संयुक्त रुपमा उनलाई अभिनन्दन गरेको थियो । यसमा उनी खुशी प्रकट गर्छन् ।
२०५६ सालमा नेपाल कलाकार संघको सदस्यता लिँदा होमनारायण एकजना मात्र राजवंशी जातिबाट प्रतिनिधि सदस्य रहेको संघकी तत्कालीन अध्यक्ष बसुन्धरा भुसाल स्विकार्छिन् । २०४९ साल देखि नै कला क्षेत्रमा सक्रिय रहेर उनलाई २०५६ सालमा संघले सदस्यता प्रदान गरेको थियो । राजेश हमाल, गौरी मल्ल, निर शाह, श्रीकृष्ण श्रेष्ठ, मुकुन्द श्रेष्ठ, डिक खड्का, पुष्प श्रेष्ठ, प्रदिप राय, रेखा क्षेत्री, बिनिता राय, बैजु सिंह, भिरु प्रताप, शिवा सहनी,शिब ढकाल आदि नेपाली र भारतीय चर्चित कलाकारहरुसँग आफूले अभिनय गरेको उनी स्मरण गर्छन् ।

कला क्षेत्र आफैमा यो गरे त्यो गरे भन्दै हिड्ने क्षेत्र होइन तर राज्यले आँप खाएर कोयाँ फ्याकेको जस्तो गरेको विभेद उनलाई मन परेको छैन । भन्छन् ‘यो कुरा समाज उपयोगी छैन ।’
झट्ट हेर्दा खतरनाक भिलेनझैं देखिने होमनारायण पर्दामा देखिएजस्तो वास्तविक जीवनमा भने क्रुर छैनन् । मिलनसार र व्यवहारिक खालका छन् । राष्ट्र लगायत हामी सबैले उनको प्रतिभाको सम्मान गर्न चुक्नु हुँदैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्