भद्रपुर ,जेठ १५ । भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

भद्रपुर १० को कलबलगुरी प्रशिक्षण केन्द्रमा २८ बेडको आइसोलेसन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको हो । अघिल्लो वर्ष सोही केन्द्रमा नगरपालिकाले देशकै नमूनायोग्य क्वारेन्टिन सञ्चालन गरेको थियो ।
आइसोलेसन सेन्टरको एक संक्षिप्त कार्यक्रमका बीच प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरे ।आइसोलेसन सेन्टरमा ३ वटा अक्सिजन कन्सन्टेटर र दुईवटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । यद्यपि, लक्षणसहितका सिकिस्त बिरामीलाई भने त्यहाँ नराखिने भएको छ । कोरोना पोजिटिभ भएका तर सामान्य अवस्थाका, सुरक्षाका दृष्टिकोणले घरमै बस्न सक्ने अवस्था नभएका संक्रमितलाई सो आइसोलेसन सेन्टरमा राखिने जनाइएको छ ।
आइसोलेसनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सरसफाइ, सुरक्षा तथा स्वास्थ्यकर्मी परिचालन, आवश्यक यन्त्र उपकरण र खाद्यान्नको व्यवस्थापन गरिएको बताइएको छ आइसोलेसन सेन्टरका लागि आवश्यक पर्ने थप अक्सिजनका सिलिन्डर, अक्सिजन कन्सन्टेटर, पल्स अक्सिमिटर, एम्बुलेन्स, शववाहन, एन्टिजेन किट, भिटिएम, पिपिई सेट, मास्क, ग्लोब्स्, स्यानिटाइजर, सोडियम हाइपोक्लोराइडजस्ता सामग्री प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय नगरपालिकाले गरेको छ ।