झापा , जेठ १६ । ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ ।

बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो । आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औँ मिनेटमा नेपालका लागि गोल गरे । २–१ ले पछि परेको ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे । त्यसपछि ४१ मिनेट र पहिलो हाफको थप गरिएको समयमा अयमन हुसेनले लगातार दुई गोल गरे ।दोस्रो हाफमा अली अलसम्मरी र सज्जदा जसमीले एक– एक गोल थपेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्