एजेन्सी । पोर्टोमा आयोजित रोमाञ्चक फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै उत्कृष्ट गोल गरे ।
पहिलो पटक प्रतियोगिता जित्ने होडमा रहेको सिटीले प्रिमियर लिगमा जस्तै खेल प्रदर्शन गर्न सकेन । फाइनलमा बोल्ड टीम सेलेक्सन गरेका पेप ग्वार्डिओलाको योजना विफल देखियो । बार्सिलोनाका पूर्व प्रशिक्षकले फर्नान्डिन्हो र रोड्रीलाई बेञ्चमा राख्दै आक्रामक लाइनअपलाई मैदानमा उतारेका थिए । तर, उनीहरुको अनुपस्थितिमा टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन सकेन ।
यता, गत सिजन पेरिस सेन्ट जर्मेनको नेतृत्व सम्हाल्दा फाइनल गुमाएका थोमल टुकलले भने यो सिजन चेल्सीलाई सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् । गत जनवरीमा चेल्सीको नेतृत्व सम्हालेयता टुकलले ग्वार्डिओलाको टोलीलाई हराएको यो तेस्रो पटक हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्