झापा, जेठ १६ । मेचीनगरका दुईसहित झापाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मेचीनगर १२ का ४२ वर्षिय मेचे समुदायका पुरुषको आज दिउँसो धाइजन स्वास्थ्य चौकीमा मृत्यु भएको हो । उनलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै मेचीनगर ५ का ६६ वर्षिय बृद्धको मेची अस्पतालमा उपचारका क्रममा गएराति १०.३० बजे मृत्यु भएको छ । उनलाई जेठ ९ गते मेची अस्पतालमै परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । त्यस्तै बुद्धशान्ति ३ की ७७ वर्षिया बृद्धालाई उपचारका लागि मेची अस्पताल ल्याउँदै गर्दा आज बाटैमा मृत्यु भएको छ । जेठ ३ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेकी थिइन् । त्यस्तै अर्जुनधारा ९ की ५४ वर्षिया महिलाको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ ।
त्यस्तै दमक ८ का ७४ बर्षिय पुरुषको आज बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । यस्तै बिर्तामोडका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड १ निवासी बस्नेत थरका ७८ वर्षिय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा हिजो बेलुका ७ बजे बिर्तासिटी हस्पिटलमा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् । योसँगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४० पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टाभित्र झापाका थप २६५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १२६ जना महिला रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणका १९१ जना र एन्टिजेन परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगरका २१ महिलासहित ३२ जना छन् ।यस्तै, बिर्तामोडका १३ महिलासहित ३१ जना, भद्रपुरमा १४ महिलासहित २८ जना, अर्जुनधाराका ९ महिलासहित २३ जना, कनकाईका ११ महिलासहित १९ जना, हल्दिबारीका ७ महिलासहित १९ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, झापा गाउँपालिकामा १२ महिलासहित २८ जना, कमल गाउँपालिकामा ११ महिलासहित २० जना, बाह्रदशीमा ७ महिलासहित १९ जना, बुद्धशान्तिमा ४ महिलासहित ७ जना, शिवसताक्षीमा ६ महिलासहित १० जना, कचनकवलमा ३ महिलासहित ७ जना, गौरादहमा १ महिलासहित ३ जना र गौरीगञ्जमा १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यो सँगै झापामा कुल संक्रमितको संख्या १० हजार ३६६ पुगेको छ भने ४ हजार ५० जनाको उपचार भइरहेको छ । आइतवार १०५ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ६ हजार ५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्