भद्रपुर, जेठ १८ । नेपाल बार एशोसिएसन झापा र मातहतमा रहेको मानव अधिकार तथा जन सरोकार समितिले आमनागरिकको बाँच्न पाउने मौलिक हक अधिकारको सुनिश्चितता गर्न नेपाल सरकारसंग तत्काल कोरोना खोपको व्यवस्थापन गर्न माग गरेका छन् ।

मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय , प्रादेशिक तथा स्थानीय ३ वटै तहका सरकारले मानवको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्दै महामारीबाट बाँच्न र बचाउन तत्काल खोपको व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् ।
कोभिड महामारीको चपेटामा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको सांघातिक आक्रमण, खाद्य तथा स्वास्थ्य सामग्रीको उपलब्धतामा हुने गरेको कृत्रिम अभाव तथा कालोबजारी जस्ता बिषयलाई तत्काल नियन्त्रण गर्नसमेत एशोसिएसन र जनसरोकार समितिले माग गरेका छन् ।
एशोसिएसनका अध्यक्ष हरिप्रसाद अधिकारी तथा सरोकार समिति संयोजक टंकप्रसाद दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आमनागरिकलाई सरकारले तोकेको स्वास्थ्य सावधानीसम्बन्धी मापदण्ड पालना गर्न अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा सरकारले विपति आउनु अगावै औषधी, खोप, अक्सिजन तथा भेन्टिलेटरजस्ता अतिआवश्यकीय वस्तुहरुको समयमै जोहो नगर्नाले आमनागरिकको आधारभूत स्वास्थ्य र बाँच्न पाउने मौलिक हकप्रति गम्भीर आघात पुगेको उल्लेख छ ।
सरकारले कोभिड १९ सम्बन्धमा पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्न सरकार तथा सरोकारवाला अस्पतालहरुलाई झापा वार एशोसिएसनले आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा संक्रमित नागरिकको जिउज्यानप्रति अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति आभार प्रकट गर्दै महामारीको यस्तो गम्भीर अबस्थामा खाद्यान्न ,ईन्धन,औषधी, स्वास्थ्य उपकरणजस्ता अत्याबश्यक वस्तुहरुको अभाव सृजना गरी कालो बजारी गर्नेलाई बजार अनुगमन गरी तत्काल कारवाही गर्न समेत सरकारसंग जोडदार माग गरिएको छ ।
लामो समयसम्मको निषेधाज्ञाका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई पहिचान गरी उनीहरुको खाद्यान्न तथा औषधी उपचारसम्बन्धी व्यवस्था मिलाउन समेत सरकारसंग माग गरिएको छ ।
विज्ञप्तिमा सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ नियन्त्रण गर्दै आमनागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहित गर्दै कोभिडपीडितको आत्मवल बढाउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्