गौरीगञ्ज जेठ १८ । गौरीगञ्जस्थित धिरज चामल उद्योगले अग्रिम जानकारी नदिई कारखाना बन्द गर्दा सयौं मजदुर विचल्लीमा परेका छन् ।

कम्पनी प्रशासनले हिजो सोमवार मुल गेटमा सूचना टाँस गरी कारखाना बन्द गरेपछि कारखानामा काम गर्ने सयौं कामदार विचल्लीमा परेका हुन् ।
दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु कारखानाको मुल गेट बन्द भएपछि विहानदेखि गेट अगाडी बसेका थिए । कोरोना महामारीका कारण श्रमिकहरुको पूर्णरुपमा जिम्मा लिन नसक्ने र उद्योग परिसरमै वासस्थानको व्यवस्थापन गरी काममा लगाउन नसकिने भन्दै उद्योग बन्द गरिएको उद्योग प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
नेपाल कारखाना श्रमिक संघ इकाइ समिति गौरीगञ्जका अध्यक्ष चमरलाल यादवले जिल्ला प्रशासन झापाले स्वास्थ्य मापदण्ड अपनाएर श्रमिकहरुलाई उद्योग परिसरभित्रै क्वारेन्टाइनको व्यवस्थापन गरी उद्योग सञ्चालन गर्नुपर्ने र काम लगाउन भने पनि त्यस्तो नगरेको बताए । उनले भने –‘ हामीसंग कुनै सल्लाह नगरी र जानकारीबिनै एक्कासी कारखाना बन्द गरेर श्रमिकहरुलाई बिच्चली पारेको छ । ’ जिल्ला प्रशासन कार्यालय झापाको निर्णयबमोजिम लागू गर्न र गराउन उद्योग प्रशासनलाई नेपाल कारखाना श्रमिक संघ इकाइ समितिका तर्फबाट पटकपटक पत्र दिए पनि कुनै सुनुवाई नभएको उनले बताए । उनले भने –‘ त्यो पत्रको बोद्धार्थ श्रम तथा रोजगार कार्यालय भद्रपुरलाई पनि दिएको छु । तर हालसम्म जवाफ आएको छैन ।’ एक्कासी कारखाना बन्द गर्दा करीब १ सय ५० जना कामदारको रोजीरोटी गुमेको अध्यक्ष यादवले बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर र जिल्ला प्रशासनको निर्णय बमोजिम उद्योग सञ्चालनमा ल्याउनु पर्ने माग गरे ।
ज्याला मजदुरीमा काम गर्ने कामदारहरु दिनको ५ सय १७ रुपैयाँ ज्याला पाउँछन् । काम गरेको हप्ता दिनमा कम्पनीले उनीहरुलाई भुक्तानी दिने गरेको छ ।
कारखानामा दैनिक ज्यालामा काम गर्ने दिलिपकुमार काहारले अग्रिम जानकारी नै नदिई एकलौटी ढंगबाट कम्पनी बन्द गरेको बताए । उनले भने – ‘ ज्यालादारीमा काम गर्छु, कारखाना बन्द भएपछि त ६ जनाको परिवार कसरी चलाउनु ? गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने दिलिप विगत ८ वर्षदेखि ज्यालादारीमा काम गर्छन् । उनी भन्छन् – ‘कारखाना बन्द गर्नु उद्योग प्रशासनको ज्यादती हो । अब हामी कहाँ जानु ? जसरी हुन्छ उद्योग खोल्नु पर्छ र हामीलाई रोजगारी दिनुपर्छ ।’
धिरज चामल उद्योग गौरीगञ्जका म्यानेजर सन्तोष कौशिकले जिल्ला प्रशासन कार्यालय झापाको निर्णय बमोजिम कम्पनी असक्षम भएकोले उद्योग बन्द गरिएको बताए । उनले भने – उद्योगमा काम गर्ने कामदार सबैलाई उद्योग परिसरमै राखेर काम लगाउन सकिदैन । कामदार कोरोना संक्रमित भएमा त्यसको पनि जिम्मेवार कम्पनी हुने छैन । त्यसैले लकडाउनभरि उद्योग बन्द गरिएको हो ।’ कोरोना महामारीको यो अवस्थामा यो उद्योगको ट्रेड युनियनले सहयोग गर्नु पर्नेमा विभिन्न मागहरु राख्दै कहिले आंशिक त कहिले पूर्ण बन्द गर्ने कार्यप्रति दुःख लागेको म्यानेजर कौशिकले बताए । धिरज चामल उद्योग नेपालकै अग्रणी चामल उद्योगमा पर्छ । गोल्छा अर्गनाइजेसनअन्तर्गत धिरज चामल उद्योगले चामल, चिउरा, पापड उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ ।