झापा , जेठ १८ ।अन्य जिल्लामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर घटेपनि झापामा निषेधाज्ञाको समयमा समेत मृत्यु दर घट्न सकेको छैन । जिल्लामा कोरोना संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ५ जनाको मृत्यु भएको छ ।
भद्रपुरको मेची अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो । मेची अस्पतालमा मृत्यु हुनेमा बुद्धशान्तिका एक महिला र एक बृद्ध तथा मेचीनगरका एक पुरुष रहेका छन् । बुद्धशान्ति ३ की ३७ वर्षिया राई थरकी महिलाको आज मध्यान्ह मृत्यु भएको हो । त्यस्तै मेचीनगर १० का ५५ वर्षिय पुरुषको पनि आजै मेची अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए । मेचीनगरका ती पुरुषलाई जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज दिउँसो धुलाबारीको निन्दा खोलामा नेपाली सेनाले दाहसंस्कार गरेको कोभिड संयोजक नविन बरालले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
त्यस्तै बुद्धशान्तिका एकजना कोरोना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन मेची अस्पतालमा मृत्यु भएको छ । विगत दुई सातादेखि उपचाररत वडा नं ३ का करीब ८० वर्षिय दंगाल थरका बृद्धको गएराति अस्पतालमै मृत्यु भएको हो । उनको हिजो दिउँसो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । हिजो दिउँसो रिपोर्ट नेगेटिभ आएको र राति ११ बजे मृत्यु भएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । उनले फोक्सोमा समस्या भएर मृत्यु भएको हुनसक्ने आशंका गरे । मृतकको शवलाई घरपरिवारले नै स्वास्थ्य सावधानी अपनाएर चिलिमगढीमा दाहसंस्कार गरेको जनाइएको छ ।
त्यस्तै अर्जुनधाराका दुईजना संक्रमित महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिला र वडा नं ११ की ५४ वर्षिया गुरुङ थरकी महिलाको उपचारको क्रममा हिजो बेलुका बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । परियारको शव परियारले लिएर गएपनि गुरुङको शव बुझ्न परिवार नआएकाले शव अस्पतालमै रहेको जनाइएको छ । यसअघि हिजै अर्जुनधारा ३ की लिम्बू थरकी महिलाको मृत्यु भएको थियो भने एक दिनअघि अर्जुनधारा ९ की अधिकारी थरकी महिलाको पनि कोरोना संक्रमणबाट निधन भएको थियो । कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकामा केही दिनदेखि दैनिक कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । झापामा हालसम्म २४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।




