झापा ,जेठ २०। केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित ढकालको भद्रपुर ६ भानुनगरस्थित आफ्नै निवासमा गएराति १२ः३० बजे निधन भएको हो । पूर्वी पहाडी जिल्ला भोजपुरको याकुमा जन्म भई जीवनयापनका लागि झापा आएपछि २०३०–०४० को दशकमा केही नातेदार र साथीहरुका साथमा उद्योग क्षेत्रमा पदार्पण गरेका ढकालले त्यहीबेलादेखि यातायात क्षेत्रका साथै चिया, काठ उद्योगमा पनि लगानी गरेका थिए । झापा हल्दिबारीको डाँफे चिया उद्योगसँगै भारतको पानीटंकीमा बृहत समिल सञ्चालन गरेको ती उद्योगमा आफूहरुले पनि सहलगानी गरेको भद्रपुरका अग्रज उद्योगी एवम् झापा उद्योग संघका कार्यकारिणी सदस्य चण्डीप्रसाद पराजुलीले जानकारी दिए ।
झापाका सफल युवा उद्योगी एवम् समाजसेवी दिपेश ढकालका पिता स्व. प्रेमप्रसाद ढकाल रेडक्रस, परिवार नियोजन संघजस्ता सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवामा पनि सक्रिय थिए ।
स्व. ढकालका श्रीमती रुपादेवी, छोराहरु दिपक र दिपेश, छोरीहरु यशोदा, हरिकला, शशिकला र चन्द्रकला रहेका छन् । जेठा छोरा दिपक लामो समयदेखि वेलायतमा बस्दै आएका छन् ।
स्व. ढकालको आज विहान भद्रपुर ७ स्थित देउनिया घाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्