बिर्तामोड, जेठ १९ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई बुधवार अक्सिजनसहितका ५० थान सिलिन्डर हस्तान्तरण गरेको छ ।

पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुसहित अन्य दाताहरुबाट संकलित रकमबाट काठमाडौंबाट खरिद गरी मंगलवार ल्याइएका सिलिन्डर बुधवार बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

नेकपा एमाले प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरेको हातबाट बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उक्त अक्सिजन सिलिन्डरहरु हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष घिमिरेले नेकपा एमालेले राजनीतिलाई मात्र सधैं केन्द्रमा राखेर हिड्नको साटो समुदायमा परेको आपतविपतमा सकेसम्म सहयोग गर्दै आएको बताए । समाजप्रतिको उत्तरदायित्वमा आफ्नो पार्टीका कार्यकर्ताहरु सधैं अग्रसर हुने गरेकाले यस्ता महामारीहरुमा रचनात्मक योगदान पुर्याएको उनको भनाई थियो ।
यस्तै कार्यक्रममा नगरप्रमुख शिवाकोटीले अक्सिजनजस्तो प्राणवायु बोक्ने सिलिन्डर र अक्सिजन उपलब्ध गराउने मानवीय मन भएका एमाले कार्यकर्तासहित सबै दाताहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नगरपालिकाको पहलमा बिर्तामोडमा सुविधासम्पन्न नगर अस्पताल सञ्चालनमा ल्याइएकाले अब उपचार नपाएर बिर्तामोडबासीले अकालमै मर्नु नपर्नेमा आश्वस्त पारे ।

एमाले बिर्तामोड नगर कमिटीका सचिव सुवास भट्टराईले सञ्चालन गरेको उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, नगर उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रशासकीय अधिकृत देवराज कार्की, नगर अस्पतालका डाक्टर तथा नर्सहरु, कोभिड फोकल पर्सन ओम खड्कालगायतको सहभागिता थियो ।

एमाले बिर्तामोड नगर कमिटीका सचिव भट्टराईका अनुसार नगर अस्पताललाई ५० वटा अक्सिजनसहितको सिलिन्डर प्रदान गर्नका लागि पार्टीले सहयोग संकलन अभियान संचालन गरेकोमा सयवटा सिलिन्डरको रकम संकलन भएको थियो । विभिन्न दाताहरुले करिब १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकोमा १३ लाख उठिसकेको र २ लाख उठ्न बाँकी रहेको भट्टराईले जानकारी दिएका छन् ।
अक्सिजनसहितको ५० वटा सिलिन्डर हस्तान्तरणपछि करीब ६ लाख ५० हजार रुपैयाँ बचत रहेकाले नगर कमिटीको निर्णयमा महामारीबाट प्रभावितहरुकै लागि सो रकम खर्च गर्ने उनको भनाई छ । सो पार्टीले अक्सिजनको सिलिन्डर प्रतिगोटा १६ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ भने २०० रुपैयाँ प्रतिगोटा ढुवानीमा र अक्सिजन फिलिङ गर्न ७०० रुपैयाँ प्रतिगोटा खर्च लागेको जनाइएको छ ।
बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा तत्कालका लागि कोरोना संक्रमितहरुको उपचारमा लगाउन अक्सिजन सिलिन्डर उपलब्ध गराइएको एमाले नगर कमिटीका अध्यक्ष उमानाथ ओलीले जानकारी दिएका छन् । नगरपालिकाले यस अघिदेखि नै अनारमनी स्वास्थ्य चौकी भवनमा अक्सिजनसहित ५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्