झापा , जेठ २० । कम मानवीय क्षति भएको कोरोना महामारीको पहिलो लहरमा सक्रिय देखिएका झापाका स्थानीय तहका जनप्रतिनिधिहरु दोस्रो लहरमा भने निश्क्रिय भएका छन् ।

नयाँ भेरियन्टले धेरै जनालाई संक्रमित बनाएर ज्यान लिइरहँदासमेत स्थानीय सरकारका जनप्रतिनिधिहरुले यसपटक वास्ता नगरेको गुनासो छ । गत वर्ष कोरोना संक्रमण नियन्त्रणमा जिल्लाका स्थानीय तह र त्यसका जनप्रतिनिधिहरुको भूमिका राम्रै देखिएको थियो । कोरोना संक्रमणबाट बच्नका लागि जनचेतना फैलाउनेदेखि लिएर क्वारेन्टाइन संचालन ,राहत वितरणजस्ता काममा उनीहरु खटिएका थिए । तर , यस वर्ष कोरोना संक्रमण नियन्त्रणमा जनप्रतिनिधिहरुको भूमिका खासै देखिएको छैन । कोरोनाको दोस्रो लहरमा जिल्लाका जनप्रतिनिधिहरुको भूमिका खासै नदेखिएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । ‘अलिकति लास्ट आवरमा देखिएको छ’उनले भने ,‘ गत वर्षको जस्तो चाहिँ उनीहरु परिचालित छैनन् ।’ सरकारले सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गर्न निर्देशन दिएपनि जिल्लाका केही पालिकाहरुले नाम मात्रका बनाएका छन् । गत वर्ष कोरोना प्रभावितलाई राहत वितरण सही रुपमा नभएपछि यस वर्ष नराखिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । उनले यस वर्ष कोरोना राहत कोष खडा नगरिएको जानकारी दिए । गत वर्ष बिर्तामोड नगरपालिकाले करीब डेढ करोडको कोरोना राहत कोष खडा गरेको थियो । त्यसबाट नगरका कोरोना प्रभावितहरुलाई दुईपटक राहत वितरण गरेको थियो । झापामा कोरोना संक्रमणबाट हालसम्म २५१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये १२३ जना दोस्रो लहरका हुन् । त्यस्तै कूल संक्रमितको सँख्या १० हजार ९८३ पुगेको छ । जसमा ४ हजार ३२१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्