बिर्तामोड , जेठ २१ । कोरोना संक्रमितहरुको सँख्या बढ्दै गएपछि झापा जिल्लाका सबै पालिकाहरुले आइसोलेसन सेन्टर तयार गरेका छन् । तर , ती सबै आइसोेलेसन सेन्टरहरु कामका छैनन् ।

बन्द कोठाभित्रको बाह्रदशीको आइसोलेसन

कतिपय आइसोलेसन सेन्टरहर झारा टार्नकै लागि निर्माण गरिएका छन् । बाह्रदशी गाउँपालिकाको आइसोलेसन सेन्टर वडा नं १ को जेष्ठ नागरिक भवनमा निर्माण गरिएको छ । २० बेडको त्यस आइसोलेसन सेन्टरमा कोही नगएपछि त्यसलाई ताला लगाएर राख्ने गरिएको छ । आइसोलेसन सेन्टरमा कोही नआएपछि त्यसलाई ताला लगाएर राखिएको एक जनप्रतिनिधिले बताए । आइसोलेसन सेन्टरमा संक्रमितका लागि बेडबाहेक अरु खासै सुविधा छैन । न कर्मचारी, न खानपिन, न स्वास्थ्य उपकरण, न औषधि उपचारको व्यवस्था । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा ३८० बेडको आइसोलेसन सेन्टर तयार भएको छ ।तर , ती सबै आइसोलेसन सेन्टर व्यवस्थित छैनन् । केहीले मात्र अक्सिजनको व्यवस्था गरेका छन् । धेरै ठाउँमा अक्सिजन छैन ।

त्यस्तै कमल गाउँपालिकाको आइसोलेसन सेन्टर व्यवस्थित नरहेको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले बताए । उनले भर्खरै कचनकवल गाउँपालिकाले आइसोलेसन सेन्टर तयार गरेको जानकारी दिए । जिल्लामै सबैभन्दा नमूनायुक्त आइसोलेसन सेन्टर बुद्धशान्ति गाउँपालिकाले तयार गरेको छ । जिल्लाका १५ वटै पालिकाले तयार गरेको आइसोलेसन सेन्टरको अनुगमन गर्दा सबैभन्दा नमूना बुद्धशान्ति गाउँपालिकाको रहेको उनले बताए । त्यस्तै अर्जुनधारा , बिर्तामोड , गौरादह, भद्रपुर ,मेचीनगर , दमकलगायतका स्थानमा रहेको आइसोलेसन सेन्टर राम्रै रहेको उनले जानकारी दिए । होम आइसोलेसनमा बस्न अप्ठ्यारो हुनेका लागि सम्बन्धित पालिकाहरुले आइसोलेसन सेन्टर तयार गरेका हुन् । तर सुत्नेबाहेक अन्य कुनै सुविधा नभएपछि संक्रमितहरु आइसोलेसन सेन्टर नगई घरघरमै बस्ने गरेका छन् । कोरोना संक्रमणको पहिलो लहरमा बनाइएका क्वारेन्टाइनभन्दा आइसोलेसन सेन्टरमा खासै फरक देखिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्