दमक, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर शनिवार दमक जेसीजले दमक २ स्थित प्रस्तावित दमक मुक्तिघाट क्षेत्रमा बृक्षरोपण गरेको छ ।

दमक जेसीजका अध्यक्ष सुयोग खरेलको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी कपुर,रुद्राक्षलगायतका जातका बिरुवाहरु रोपिएका हुन् ।
वातावरण संरक्षणमा जोड दिने उद्देश्यले जेसीजले आफ्नो बार्षिक कार्यक्रमअन्तर्गत वृक्षरोपण गरेको महासचिव निरज आचार्यले जानकारी दिए ।
‘मेरो जीवनमा एउटा बिरुवा’भन्ने सन्देशका साथ आयोजित वृक्षरोपण कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा,हंसेदुम्से सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल,जेसीजका पदाधिकारी ,सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी विश्व वातावरण दिवसको अवसर पारेर कमल गाउँपालिका वडा नं ७ स्थित गेउरिया बजार क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
वडा कार्यालयको आयोजना तथा गेउरिया बजार समिति र विष्णुकठ्ठा टोल विकास समितिको व्यवस्थापनमा शनिवार त्यहाँ वृक्षरोपण गरिएको हो ।
वडा अध्यक्ष पृथ्बीपति राईको प्रमुख आतिथ्यतामा भएको सो वृक्षरोपणमा बजार तथा सडक किनारमा कपुर,स्वामीलगायत विभिन्न जातका बिरुवाहरु रोपिएको स्थानीय अरुण गुरुङले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्