बुद्धशान्ति, जेठ २३ । अस्पताललाई बुझाउनु पर्ने शुल्क बुझाउन नसक्दा एकजना विरामीले एक सातादेखि घर जान पाएका छैनन् ।

बुद्धशान्तिमा बसोबास भई मजदुरी गरी जिविकोपार्जन गर्दै आएका ३५ वर्षिय शखा राजवंशी घरबाट लडेर घाइते भएका थिए । उनलाई बिर्तामोडको मेडिका अस्पतालमा भर्ना गरिएको थियो । निको भएको एकसाता भन्दा बढी भएपनि पैसा अभावले राजवंशी अस्पतालबाट डिस्चार्ज हुन नसकेका हुन् ।
मजदुरी गर्दै विहान–बेलुकीको छाक टार्दै आएका आर्थिक अवस्था कमजोर भएका उनले अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न सकेका छैनन् । परिवार र आफन्त कोही नभएका राजवंशी साथीभाइसंगै कोठा लिएर बुधबारेमा बस्दै आएका थिए । अस्पतालको करिव १ लाख ६० हजार रकम बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न उनी बाध्य छन् ।

घरबाट लडेर घाइते भएपछि आफूहरुले उठाएर अस्पताल भर्ना गरेको स्थानीय देवी दुलालले बताए । आफूहरुले घरघर र पसलहरुबाट मागेर करिव ५० हजार रुपैंयाँ संकलन गरेको उनले जानकारी दिए ।‘ उनको कोही पनि रहेनछ, मानवता र चिनेको हिसाबले अस्पताल भर्ना गरियो ’ दुलालले भने ,‘ अहिले निको पारिसकेर डिस्चार्ज गर्न गाह्रो भयो ।’ आफूहरुले सक्दो छुट गरेको मेडिका हस्पिटलका संचालक हरिश्चन्द्र बाँस्तोलाले बताए । विरामीले अस्पतालमै मजदुरी गरेर रकम तिर्न खोजेको बताउँदै त्यसो गर्दा अस्पताल व्यवस्थापनलाई समस्या पर्ने बाँस्तोलाले जानकारी दिए । भारत घर भएका राजवंशी एक महिना अगाडि मजदुरी गर्न आएका थिए ।

‘ स्थानीय नागरिक भएको भए गाउँपालिकाले सम्पूर्ण जिम्मेवारी लिन सक्थ्यो बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने ,‘ अनागरिक भएकाले मानवीय हिसाबले मात्र केही सहयोग गर्न सक्छौं ।’ उनले गाउँपालिकाका तर्फबाट केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । बन्धकजस्तै बनाइएका राजवंशीलाई सबैको सरसहयोगमा अस्पतालबाट डिस्चार्ज गर्न सहयोगी दुलालले आग्रह गरेका छन् । उनले राजवंशी समुदायलाई पनि सहयोगका लागि आव्हान गरेको बताएका छन् । सहयोग गर्न चाहने महानुभावलाई आफ्नो ९८४४६६३३४० नम्बरमा सम्पर्क गर्न वा अस्पतालमै गएर सहयोग गर्न उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्