रामप्रसाद ढुंगेल,
युएई ,जेठ २४। निःशुल्क प्राथमिक उपचारको स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले स्थापित योगदान राष्ट्रको लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै गएको छ ।

युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले प्राथमिक उपचारको क्षेत्रमा नेपाली जनतालाई विदेशमा सिकेको सीप र क्षमता समर्पित गर्ने उद्धेश्यले स्थापना गरेको फाउन्डेसनको झापा टिमले आफ्नो जिल्लाका सबै कोरोना प्रभावितहरुलाई मनोबल बढाउन पौष्टिक खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रोत्साहनस्वरुप उपलब्ध गराएको अध्यक्ष माइनसप्लस संग्रौलाले जानकारी दिएका छन् ।
योगदान राष्ट्रको लागि जिल्ला समिति झापाले झापाका सबै स्थानीय निकायका कोभिड आइसोलेसनमा रहेका बिरामीहरुलाई स्वास्थ्यबद्र्धक खानेकुरा र स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको छ ।

फाउन्डेसनको झापा टिमले जेठ २३ गते मेची प्रादेशिक अस्पतालमा रहेका ६५ जना बिरामीहरुलाई हर्लिक्स, च्यवनप्रास, सेनिटाइजर, साबुन र मास्क वितरण गरेको जिल्ला समन्वय समितिका अध्यक्ष तथा मेची अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अध्यक्ष पोर्तेलले फाउन्डेसनको यो सहयोग अभियानको खुलेर तारिफ गरेका थिए ।
त्यसैगरी दमक नगरपालिकाको आइसोलेसन सेन्टरमा रहेका करिब ४० जना कोरोनापीडित बिरामीलाई खाद्य र स्वास्थ्य सामग्री वितरण गरिएको फाउन्डेसनका जिल्ला सचिव सुजु बुढाथोकीले जानकारी दिएकी छन् ।
यसैगरी भद्रपुर नगरपालिकाले संचालन गरेको कलबलगुडी आइसोलेसन सेन्टरमा रहेका बिरामीलाई नगर प्रमुख जीवनकुमार श्रेष्ठको उपस्थितिमा प्रोत्साहन राहत वितरण गरिएको थियो । नगर प्रमुख श्रेष्ठले फाउन्डेसनको यो सहयोग अनुकरणीय रहेको बताउँदै धन र मन हुने दुबैलाई एक स्थानमा ल्याएर उदाहरणीय राहत प्याकेज वितरण गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।

यसैगरी हल्दिबारी आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुलाई वडा न २ का अध्यक्ष राजेन्द्र योङहाङमार्फत यसअघि नै हस्तान्तरण गरिएको फाउन्डेसनका प्रदेश संयोजक चेतना निरौलाले बताइन् ।
जिल्ला अध्यक्ष संग्रौलाको सभापतित्वमा मेची अस्पताल लगायत ३ पालिकामा प्रोत्साहन प्याकेज वितरण गरिएको उक्त कार्यक्रमको संचालन जिल्ला समितिका सचिव बुढाथोकीले गरेकी थिइन् ।
कार्यक्रममा प्रदेश १ संयोजक निरौला, प्रवक्ता विजय उप्रेती, सहसचिव डिल्लीराम पोखरेल, सदस्य प्रकाश शर्मा, अभि प्रधान, अर्जुन बानियाँ लगायतका सामाजिक अभियन्ताहरुको उपस्थिति थियो ।फाउन्डेसनले योभन्दा अगाडि बिर्तामोड, दमक नगरपालिका र
कमल गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका कोरोना पोजेटिभ बिरामीलाई प्रोत्साहनस्वरुप स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।
सहयोग संकलन गरेर बाँकी पालिकाहरुमा पनि यसैगरी वितरण गरिने योजना रहेको अध्यक्ष संग्रौलाले बताएका छन् ।
योगदान राष्ट्रको लागि एक सेवामूलक संस्था हो । यसले देश र देशवासीको स्वास्थ्यको हितको लागि आन्तरिक श्रोत र सहयोगी व्यक्तित्वहरुको साथले झापा लगायत देशका २२ वटा जिल्लामा स्वास्थ्य सहायता सामग्री वितरण गरेको फाउन्डेसनका केन्द्रीय अध्यक्ष ओमप्रसाद उप्रेतीले बताएका छन् । अध्यक्ष उप्रेती स्वयंले झापा लगायत अन्य जिल्लाको लागि १ लाख रुपैयाँको सहयोग उपलब्ध गराएका छन् भने फाउन्डेसनका अन्य पदाधिकारीहरुले पनि यथासक्य आर्थिक सहयोग उपलब्ध गएर झापा लगायत अन्य सक्रिय जिल्लामा आर्थिक सहयोग उपलब्ध गराएको फाउन्डेसन अध्यक्ष उप्रेतीले बताए ।
यसरी नै फाउन्डेसनको झापा टिममा आवद्ध धेरै पदाधिकारी र शुभेच्छुकहरुले पनि थोरैथोरै सहयोग जम्मा गरेर यो अभियान शुरु गरेको झापा सचिव बुढाथोकीले बताएकी छन् ।
यो अभियानमा विश्व भुटानी हिन्दु संगठन अमेरिका, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, हङकङ, वरिष्ठ उपाध्यक्ष दिपक खनाल अस्ट्रेलियाले पनि उल्लेखीय सहयोग गरेको अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् । यसैगरी सदिक्षा शाही, अमेरिका, समाज कल्याण परिषदका पर्व उपाध्यक्ष निलमणी बरालले पनि आर्थिक सहयोग उपलब्ध गराएको र यसैगरी सहयोग मिलेमा अन्य धेरै कोरोना प्रभावितहरुको सुखदुःखमा साथ दिन सकिने फाउन्डेसनका झापा अध्यक्ष संग्रौलाले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्