झापा , जेठ २४ । जिल्लाका र जिल्ला बाहिरका गरी ८ जना कोरोना संक्रमितको झापाका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना महिला र २ जना पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा जिल्लाका ३ जना र जिल्ला बाहिरका ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापा बिर्तामोडका दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड ५ की ५४ वर्षिया र वडा नं ४ की ४३ वर्षिया महिला छन् । ती दुवैको बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।त्यस्तै बुद्धशान्ति ४ की ७३ वर्षिया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
त्यस्तै दमकको एड्भान्स हस्पिटलमा इलाम रोङ ८ की ५३ वर्षिया महिला र मोरङ उर्लाबारी ९ का ९१ वर्षिय बृद्धको मृत्यु भएको छ । त्यस्तै धरान १९ की ५३ वर्षिया महिलाको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ भने सोही हस्पिटलमा इलाम ८ का ४६ वर्षिय पुरुषको ज्यान गएको छ । त्यस्तै मोरङ पथरीशनिश्चरे ९ की ७० वर्षिया बृद्धाको दमकको आम्दा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैबीच पछिल्लो चौबीस घण्टामा झापामा २३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ११९ जना महिला रहेका छन् । पिसिआर परीक्षणबाट १५२ र एन्टीजेन परीक्षणबाट ८३ जनालाई संक्रमण पुष्टि भएको हो ।योसँगै झापामा कूल संक्रमितको सँख्या ११ हजार ५५६ पुगेको छ । सोमबार १५२ जना डिस्चार्ज भएका छन् । जिल्लामा हालसम्म ७ हजार ९३ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्