इलाम , जेठ २५ । सामान्यतया हामीले दुई सय ग्रामसम्मको प्याज देखेका छौं । तर , इलामका एकजना किसानले एउटै प्याज दुई किलोसम्मको फलाएका छन् ।

इलाम नगरपालिका १० जौबारीका गंगा प्रधानले दुई किलोको प्याज फलाएका हुन् । आफ्नो बारीमा पाँचवटा प्याजको दाना दुई–दुई किलोको फलेको प्रधानले जानकारी दिए । ‘अरु प्याजको दाना पनि आधा किलो–एक किलोका छन् ’उनले भने ,‘पाँचवटा दाना चाहिँ दुई–दुई किलोको फल्यो, जुन बिर्तामोडको घरमा लगेर राखेको छु ।’उनले साउथ अफ्रिकन जातका प्याज रोपेका थिए । विराटनगरबाट बीउ ल्याएर आफूले सो प्याज रोपेको प्रधानले बताए ।आफूजस्तै अरु किसानले पनि त्यही बीउबाट ठूल्ठूला प्याज फलाएको उनले जानकारी दिए । लगातार तीन वर्षदेखि उनले अर्गानिक प्याजको खेती गर्दै आएका छन् ।उनले यस वर्ष ७० मन प्याज फलाएका छन् । प्रधानको जस्तै जौबारी गाउँमा प्रायः सबै किसानले उन्नत जातको प्याज उत्पादन गर्दै आएका छन् ।

विगत एक महिनादेखि जारी निषेधाज्ञाले बजार बन्द हुँदा किसानले उत्पादन गरेको प्याज बिक्रीमा समस्या भएको छ । गत वर्ष समेत प्याज उत्पादन गर्ने सिजनमा भएको बन्दाबन्दीले बिक्रीमा समस्या भएको किसानहरु बताउँछन् ।यो वर्ष लगातार बढेको कोरोना संक्रमण र जसका कारण बजार बन्द हुँदा प्याज बिक्रीमा समस्या रहेको प्रधान बताउँछन् ।यतिबेला जौबारी पुग्ने जोकोहीले घर–घरको बरण्डामा प्याज राखेको देख्न पाइन्छ । दक्षिण अफ्रिकाबाट आयात भएको उन्नत बीउ महँगो मुल्य तिरेर लगाएको किसानहरुको भनाई छ ।प्याज रोप्ने सिजनमा खडेरीका कारण पानी लगाउन समस्या भएको र अहिले बिक्रीमा समस्या हुँदा लगानी डुव्ने उनीहरुले चिन्ता गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्