झापा, जेठ २५ । झापामा बुधबारदेखि दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईदैछ ।

झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । चिनिया भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइने स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ । झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सँख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर , खोप १३ हजार मात्र आएको छ । जिल्लाका सबै पालिकाहरुलाई मिलाएर खोप उपलब्ध गराइएको चौलागाईले बताए । कूल जनसँख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ । बिर्तामोड नगरपालिकमा १३५० भाइल खोप आएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । सरकारले मंगलबारदेखि मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाएको हो  । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो ।

यसैबीच झापामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर घट्न सकिरहेको छैन ।
जिल्लामा मंगलबार ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । दमकका दुई तथा बिर्तामोड, शिवसताक्षी , बुद्धशान्ति , मेचीनगर र भद्रपुरका एक–एक जनाको मृत्यु भएको हो । बिर्तामोडमा मजदुर नेता सम्फी दासको कोरोना संक्रमणका मृत्यु भएको छ । नेपाली कांग्रेस निकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन)का जिल्ला अध्यक्ष बिर्तामोड ३ सैनिक मोड निवासी दासको मंगलबार बिहान ९ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनी केही सतादेखि त्यहाँ उपचाररत थिए ।
त्यस्तै शिवसताक्षीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा नं ४ का सिटौला थरका ८६ वर्षिय बृद्ध रहेका छन् । उनको सोमबार राति उपचारका क्रममा दमकको आम्दा अस्पतालमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । उनी केही दिन अघिदेखि आम्दा अस्पतालमा उपचाररत रहेका थिए ।त्यस्तै दमकका दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ४ की ५८ वर्षिया महिलाको बिर्तासिटी हस्पिटल र वडा नं २ की ५७ वर्षिया महिलाको एड्भान्स हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तर,दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले दमक ठेगाना लेखाएका जिल्ला बाहिरका संक्रमितहरुको मृत्यु भएको हुनसक्ने बताएका छन् । त्यसैगरी बुद्धशान्तिकी ५८ वर्षिया महिलाको मंगलबार दिउँसो लाइफलाइन अस्पतालमा मृत्यु भएको छ भने भद्रपुर १ का ४९ वर्षिय पुरुषको मेची र मेचीनगर २ का ४३ वर्षिय पुरुषको बिएण्डसी हस्पिटलमा मृत्यु भएको चौलागाईले जनाएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २७८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा झापाका २७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ११५ जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ५४ जना छन् । त्यहाँ २३ महिलासहित ५४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोडमा १४ महिलासहित ४४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, मेचीनगरमा २६ जना महिलासहित ५१ जना, दमकमा १४ महिलासहित २७ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, बाह्रदशीमा ६ महिलासहित १८ जना, गौरादहमा ६ महिलासहित १५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै, बुद्धशान्तिमा ४ महिलासहित १६ जना, शिवसताक्षीमा ७ महिलासहित ११ जना, कचनकवलमा ५ जना, कनकाईमा ९ जना, कमलमा ५ जना, झापामा १ जना र ठेगाना नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यो सँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ७८३ पुगेको छ भने मंगलबार १५६ जना निको हुँदा घर फर्किनेको संख्या ७ हजार २४९ पुगेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या ४ हजार २२६ रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्